सगरमाथा टेलिभिजनको १३ औ जन्मोत्सव

प्रकाशित मिति:

काठमाडौं–सगरमाथा टेलिभिजनले आफ्नो १३ औ जन्मोत्सव मनाएको छ । टेलिभिजनको कार्यालयमा आयोजित कार्यक्रममा टेलिभिजनले स्थापनादेखि अहिलेसम्म गरेको कामको समीक्षा भयो । टेलिभिजनले १२ वर्ष पूरा गरी १३ वर्ष प्रवेश गरेको अवसरमा धन्यवाद दिँदै प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले देश निर्माणको अभियानमा सगरमाथा टेलिभिजन सशक्त माध्यम बन्ने विश्वास व्यक्त गरे ।आफू सञ्चारमन्त्री हुँदा सगरमाथा टेलिभिजन स्थापना भएको भन्दै महराले देशका प्रत्येक आरोह अवरोहमा प्रभावकारी मिडियाको भूमिका निभाउन टेलिभिजन उद्धत रहेको बताए । उनले आगामी दिनमा पनि संस्थाको लक्ष्य अनुसार देशको तेस्रो आँखाका रुपमा टेलिभिजनले खबरदारी गरिरहने विश्वास गरे ।

कार्यक्रम सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले आवाजबिहीनको आवाज बनेर सगरमाथा टेलिभिजनले देशको समृद्धिका लागि खबरदारी गरिरहने बताए । अध्यक्ष गुरुङले निमुखा, पीडितको आवाजलाई प्राथमिकतामा राखेर जिम्मेवार र जवाफदेही सञ्चारमाध्यमका रुपमा सगरमाथा टेलिभिजनलाई स्थापित गराउने बताए । कार्यक्रममा विभिन्न क्षेत्रका अगुवा तथा सगरमाथाकर्मीको सहभागिता थियो ।