चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष छनोट प्रकृया रोक्न डा. गोविन्द केसीको आग्रह

प्रकाशित मिति:

                                                 नसच्याए कडा आन्दोलनमा जान्छु !

काठमाडौँ – डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि जारी छनोट प्रकृया त्रुटिपूर्ण भएको तत्काल रोक्न माग गरेका छन् । केसीले प्रकृया रोकेर नसच्चाए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । उनले सो पदका लागि आवेदन दिएकाहरु सबै अयोग्य भएको भन्दै नाम फिर्ता लिनुपर्ने पनि बताएका छन् । यसअघि सरकारले चिकित्सा शिक्षालाई गुणस्तरीय बनाउन आयोग गठन गरेर उपाध्यक्षका लागि आवेदन मागेको थियो । १५ दिने सुचना जारी गर्दै मागिएको आवेदनअनुसार सो पदका लागि ६ जना वरिष्ठ चिकित्सकहरुको आवेदन दिएका थिए । आवेदन दिने म्याद सोमबार सकिएको छ ।

डा. केसीले बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै आयोगको उपाध्यक्ष पदका लागि योग्य भन्दा पनि अयोग्यहरुको निवेदन परेको भन्दै छनोट प्रकृया तत्काल रोक्न माग गरे । ‘यसो गरिए राजनीतिक भागबन्डाको आधारमा सरकार चलेको पुष्टि हुन्छ । त्यसकारण उम्मेदवारी फिर्ता गर्न माग गर्दछु’ पत्रकार सम्मेलनमा केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले नियुक्ति प्रकृयाको कर्मकाण्ड देखाएर पन्छिने होइन की योग्य मान्छे खोजेर स्वतन्त्रतापूर्वक काम गर्ने वाताबरण बनाइदिने शर्तमा जिम्मेवारी सुम्पनुपर्छ । त्यसका लागि हाल अघि बढेको उम्मेदवारहरुको छनोट प्रकृया तत्काल रोक्न सरकारसाग माग गर्दछौँ ।’ त्यस्तै डा केसीले आयोगको उपाध्यक्ष नियुक्तिमा विकसित घटनाक्रमहरुले कसैलाई जागिर खुवाउने र नियुक्ति दिनेतर्फ केन्द्रीत भएको आरोप लगाएका छन् । उनले उपाध्यक्षमा पार्टीको कार्यकर्ता भर्ना गरिए यस क्षेत्रको विकृति थप मौलाउने दावी गरेका छन् ।

विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानले आर्थिक चलखेलका आधारमा सम्बन्धन दिने र भर्ना लिने गरेको गुनासो बढेपछि अधिकार सम्पन्न आयोगको व्यवस्था गरिएको हो । प्रधानमन्त्री अध्यक्ष हुने आयोगको कार्यकारी प्रमुख भने उपाध्यक्ष हुन्छ, जसमा ६ जनाले इच्छा देखाएका छन् । त्यसका लागि श्रीकृष्ण गिरी, पारस पोखरेल, नीलमणि उपाध्याय, प्रमोदकुमार सरा र रमेशप्रसाद सिंहले आवेदन दिएका हुन् ।

आयोगको उपाध्यक्ष हुन चिकित्साशास्त्रको कुनै पनि विधामा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी कम्तिमा १० वर्ष शिक्षा र २० वर्ष स्वास्थ्य सेवामा अनुभव योग्यता तोकिएको थियो । लोकसेवा आयोगका अध्यक्ष संयोजक तथा मुख्यसचिव र चिकित्सा क्षेत्रका प्राध्यापक सदस्य रहेको समितिले आवेदकमध्येबाट सिफारिस गर्ने व्यवस्था छ । चिकित्सा शिक्षामा हुने आर्थिक चलखेल रोक्न अलग्गै कानुन बनाएर गठन गरिएको शक्तिशाली आयोगमा विवादमा नमुछिएका व्यक्तिलाई नियुक्त गर्नुपर्ने डा. केसीको माग छ । साथै केसीले सरकारले आफूलाई पटक–पटक झुक्याउदै आएको, सहमतिहरु उल्लङ्घन गरेको आरोप लगाएका छन् । उनले उपाध्यक्ष नियुक्ति प्रकृया नरोके आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

थप समाचार