नेपालमा सम्बन्ध प्राप्त २ कलेज उत्कृष्ट : उपकूलपति जियोफ

प्रकाशित मिति:

काठमाडौं – बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका उपकूलपति प्रा. जियोफ लेयरले नेपालमा सम्बन्धन प्राप्त २ कलेजले उत्कृष्ट शिक्षा दिएको बताएका छन् ।विश्वका करीब १२ देशका कलेजलाई सम्बन्धन दिएका विश्वविद्यालयले काठमाडौंको हेराल्ड र विराटनगरको मेरिल्याण्ड कलेजको शिक्षा उल्भरहेम्टर विश्वविद्यालयमा पढ्ने विद्यार्थीको भन्दा उत्कृष्ठ रहेको दाबी गरे ।

हेराल्ड कलेजको अवलोकन भ्रमणमा आएका उपकुलपति जियोफले कलेजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालका २ कलेजको पढाइले विश्वविद्यालयको सान बढेको बताए । ‘बेलायतका डिग्री विश्वमै प्रख्यात छ । हामीले विदेशका कुनैपनि कलेजलाई सम्बन्धन दिँदा कलेजको बारेमा अध्ययन गरेर मात्र दिन्छौं,’ उनले भने । फरक प्रसङ्गमा उनले भने, ‘उत्कृष्ट विश्वविद्यालय बन्न एउटा मात्रै कोर्समा फोकस नगरी प्रयोगात्मक शिक्षामा जोड दिनुपर्ने, पढाउने मात्र नभै भविष्य र समाजप्रति उत्तरदायी हनुपर्ने, अनुसन्धान र गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने राम्रो परीक्षाफल हुनुपर्छ ।’

कलेजका विद्यार्थीसँग अन्तर्क्रिया गर्न नेपाल आएका उपकुलपति प्रा. जियोफले नेपाली विद्यार्थी पढाइप्रति संवेदनशील रहेको बताए । उनले अनुसन्धानमा आधारित पढाइ वर्तमान समयको आवश्यकता रहेको उल्लेख गरे । सन् २०१६ को सेप्टेम्बरबाट कक्षा शुरू गरेको हेराल्डमा हालसम्म ७५ जनाले अध्ययन पूरा गरिसकेका छन् । हेराल्ड कलेजले ४ वर्षे बीआईबीएम र ३ वर्षे बीआईटी कक्षा सञ्चालन गरिरहेको छ । विराटनगरको मेरिल्याण्ड कलेजमा दुवै विषयमा कक्षा सञ्चालन भइरहेको छ । मेरिल्याण्डले सन् २०१४ देखि पढाइ शुरू गरेको हो । हाल हेराल्डमा करीब ८ सय विद्यार्थी अध्ययनरत छन् । मेरिल्याण्डमा ३ सय ५० विद्यार्थी अध्ययन गरिरहेका छन् । आईएनजी ग्रूपले सञ्चालन गरेको दुवै कलेजको शिक्षाको बारेमा जानकारी गराउँदै ग्रूपका अध्यक्ष शुलभ बुढाथोकीले अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट व्यापारिक प्रतिष्ठानमा रोजगार पाइरहेको बताए ।

बेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै उनले यहाँ पढ्ने विद्यार्थी सूचना प्रविधि क्षेत्रमा अग्रस्थानमा रहेको धारणा राखे । विश्वविद्यालयले हरेक वर्ष समर सिजनमा हेराल्ड र मेरिल्याण्ड कलेजमा अध्ययनरत ५ जना विद्यार्थीलाई १५ दिने छात्रवृत्तिमा विश्वका विद्यार्थीसँगै अध्ययन गर्ने अवसर दिने गरेको छ । अध्यक्ष बुढाथोकीले बेलायती शिक्षाले गर्दा नेपाली विद्यार्थीमा स्वअध्ययन बढेकाले विश्वविद्यालयले नेपालका २ कलेजको प्रसंसा गरेको बताए । बेलायती शिक्षालाई विश्वभर विश्वसनीय शिक्षाको रुपमा हेर्ने गरेकै कारण विश्वविद्यालयबाट सम्बन्धन पाएर कक्षा सञ्चालन गरिरहेको उनको भनाई थियो । -लोकान्तर