खानेपानी आयोजना असफल भएको कांग्रेसको ठहर

प्रकाशित मिति:

धरान- नेपाली कांग्रेसले धरानमा एकिकृत सहरी विकास कार्यक्रम अन्तर्गत निर्माणाधीन खानेपानी आयोजना असफल भएको जनाएको छ । नेपाली कांग्रेस धरान उपमहानगर समितिले कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारीलाई बुझाएको ज्ञापन पत्रमा कांग्रेसले यस्तो जनाएको हो । सम्झौतामा भूमिगत श्रोतवाट १ करोड ५२ लाख २० हजार लिटर प्रतिदिन उत्पादन गर्ने भनिएतापनि हाल ८० लाख लिटर मात्र उत्पादन भएको, इन्टरकनेक्शन गर्न नसकेको, आयोजना सम्पन्न हुने निर्धारित समयभन्दा दुईवर्ष ढिलो भईसकेको, हालको उत्पादन क्षमताले सम्झौता तथा डिजाईनमा भने बमोजिम ७ मिटरको प्रेसरमा दैनिक १६ देखि २४ घण्टा पानी उपलब्ध हुन नसक्ने दावी नगर सभापति तिलक राईद्धारा हस्ताक्षरित १० बुंदे ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

सो अवसरमा जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङले आयोजनाले भूमिगत श्रोतवाट १ करोड ५२ लाख २० हजार लिटर शुद्ध पानी वितरण सिष्टममा दैनिक झारेर र ७ मिटर प्रेसरमा घरघरमा वितरण गरेर देखाएर प्रमाणित गर्नुपर्ने र आयोजना सम्पन्न पछिको ९ महिना परीक्षण अवधि संतोषजनक हुनुपर्ने बताउंदै अधुरो, अपुरो तथा अप्रमाणित आयोजनालाई बुझ्ने र हचुवाको भरमा खानेपानी संस्थानलाई बोर्डमा गाभ्न खोजिए कडा प्रतिकार गरिने बताए । नगर सभापति तिलक राईले सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिसंग भएको ११ बुंदे माग सहित ज्ञापन पत्रमा उल्लेखित १० बुंदे मागको बुंदागत रुपमा संवोधन नगरी धरान उपमहानगरपालिका अघि बढे सशक्त आन्दोलन गर्ने बताए ।कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारीले ज्ञापन पत्र बुझ्दै आयोजनाको काम लगभग सकिन लागेको र आयोजनालाई सफल बनाउनकै लागि म्याद थप गरिएको बताए । सो अवसरमा क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, जिल्ला सदस्यहरु अनिल श्रेष्ठ, माधव घिसिङ, गोविन्द बस्नेत, निलकुमारी गिरी, नगर उपसभापति महेन्द्र तामाङ, नगर सचिवद्धय श्याम पोखरेल र युवारज शंकर, नेपाल महिला संघका क्षेत्रीय सभापति नेत्रकुमारी राई, नगर सभापति सुशिला श्रेष्ठ, महिला नगर विभाग प्रमुख पञ्चकला राई लगायतको उपस्थिति रहेको थियो ।