देशभर पहिरो र बाढीले बितण्डा मच्चायो : हालसम्म ११ जनाको ज्यान गयो, कहाँ के भयो हेर्नुहोस् ?

प्रकाशित मिति:

काठमाडौं – बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण मुलुकका सबै स्थानमा जनजीवन प्रभावित बनेको छ । काठमाडौंमा ३ जनाको मृत्यु भएसँगै वर्षाका कारण मुलुकभर मृत्यु हुनेको संख्या ११ जना पुगेको छ ।हालसम्म रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, मकवानपुर र पर्सामा गरी ११ जनाले जनाले ज्यान गुमाएको प्रहरीको् प्रारम्भीक तथ्याङकले बताएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल छन् ।

घटनामा बुहारी ३० वर्षीया शुशिला र तीन महिने नातिनी अनुश्का घाइते छन् । रामेछापमा पनि पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । भोजपुरमा पनि पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राई छन् । टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु भएको छ । ललितपुरमा पनि अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । खोटाङमा ३ जना बेपत्ता रहेका पनि जनाइएको छ ।

पर्साको पर्सागढी नगरपालिकामा बाढीले बगाएर एक बालकको मृत्यु भएको छ । पर्सागढी नगरपालिका वडा नं १ बस्ने १० बर्षका निखिल पटेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सिंग्याही खोलामा आएको बाढीले बगाएर ल्याएको दाउरा संकलन गरिरहेका उनलाई बाढीले बगाएको प्रहरीले जनाएको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिका – ३ मा महाभीर खोलाले बगाउँदा घाइते भएकी बालिका सञ्चना बलामीको मृत्यु भएको छ ।उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।