तिलोत्तमा मेयरकपको उपाधि डीएमसीलाई

प्रकाशित मिति:

सबलपोष्ट । दुर्गा मन्दिर क्लब (डीएमसी) तिलोत्तमा–९ ले प्रथम तिलोत्तमा मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । तिलोत्तमा–१चपरहट्टी खेल मैदानमा शनिबार सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा डीएमसीले बुटवलको सौभाग्य युवा क्लबलाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले पछि पार्दै उपाधि चुमेको हो ।

डीएमसीलाई उपाधि दिलाउन ट्राइब्रेकरमा अमिर श्रेष्ठ, लक्ष्मण रुचाल, विदेशी खेलाडी यानिक ओना र प्रितम थापाले बललाई जाली चुमाएका थिए । सौभाग्यका लागि गौतम शर्मा,दीपेश आले र विशाल ठकुरीको प्रहार मात्र सफल भएको थियो । यसअघि खेलको निर्धारित समयमा डीएमसीका यानिक ओनाले ४२औं मिनेटमा र सौभाग्यका सुरज घलानले ६७औं मिनेटमा गोल गरेर बराबरी खेलेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच डीएमसीका गोलरक्षक बाबुराजा मगर,बेस्ट टुर्नामेन्ट प्लेयर डीएमसीकै जीवन सुवेदी,बेस्ट डिफेन्स सौभाग्यका गौतम श्रेष्ठ र बेस्ट मिडफिल्डर डीएमसीका अमिर श्रेष्ठ घोषित भएका छन् । उपाधि विजेता डीएमसीले एक लाख ११ हजार तथा उपबिजेता सौभाग्यले ५५ हजार रुपैयां नगद र मेडल प्राप्त गरेका छन् । विजयी टिम र खेलाडीहरुलाई तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे,आयोजक तिलोत्तमा फुटबल एकेडेमीका अध्यक्ष तिलक नेपालीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् । प्रतियोगितामा रुपन्देही,पाल्पा र नवलपरासीका गरी १६ टिमको सहभागिता रहेको थियो ।