प्रेस स्वतन्त्रतामा अपूर्णता छन् : सभामुख घर्ती

प्रकाशित मिति:

बुटवल, २८ असार । प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्ती मगरले पत्रकारहरुसँग सामाजिक दायित्व पनि हुने भएकाले संवेदनशिल हुनुपर्ने बताएका छन् । उनले प्रेस स्वतन्त्रतालाई सवैधानिक रुपमा ग्यारेन्टी गरिएपनि त्यसमा केहि अपूर्णताहरु रहेको बताउदै सुधार गर्दै जानुपर्ने बताए । मिडिया एक्सन नेपालले रुपन्देहीमा आयोजना गरेको दुई दिने संसदीय पत्रकारिता सम्बन्धी क्षमता अभिबृद्धि तालिमको शनिबार समापन गर्दै सभामुख घर्तीले यस्तो कुरा बताएका हुन् । उनले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र पत्रकारिता लोकतन्त्रको चार आधारस्तम्भ भएको बताए ।

पत्रकारिता लोकतन्त्रको प्रमुख आधार हो,तर बेलाबेलामा मिडिया र सरकारका विचमा टक्कर हुन्छ, यो बर्गिय समाजमा राजनीतिक आस्थाले टसल पर्न सक्छ’–उनले भने । उनले मिडियाकर्मी हुनुको अर्थ कुनै अमुक सञ्चारगृहमा जागिर गर्ने मात्रै नभई सामाजिक दायित्व पनि हुने बताए । सभामुख घर्तीले सामाजिक सञ्जालाई मात्रै समाचारको श्रोत बनाएर पत्रकारिता गर्न नहुने बताए । उनले पत्रकारिताले समाजलाई डो¥याउने भएकाले समाचारको विश्वसनियतालाई ध्यान दिन आग्रह गरे ।  कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसीले प्रदेशमा संसद सञ्चालन हुँदा जबरजस्ती पोखरीमा हाम फालेको बताउँदै दुई बर्षको अवधिमा पौडी खेलेर उत्रनसक्ने अवस्थामा आइपुगेको बताए ।  संसदीय पत्रकार समाज प्रदेश ५ का अध्यक्ष विष्णु घिमिरेले संसद सचिवलायका कारण समाचार संकलनका क्रममा कठिनाई उत्पन्न भएकाले त्यसलाई सुधार गर्न सभामुखको ध्यानाकर्षण गराए । मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले मिडिया र संसद सम्बन्धका बारेमा पत्रकारहरुको क्षमता अभिबृद्धि गर्नका लागि कार्यक्रम गरिएको बताए । उनले मिडियासँग सम्बन्धि कानुन, संसदीय अभ्यास जस्ता बिषयलाई जोडेर तालिम गरिएको बताए । दुई दिने तालिममा वरिष्ठ पत्रकार एवं प्रोफेसर रामकृष्ण रेग्मी र अध्यक्ष लक्ष्मणदत्त पन्तले सहजीकरण गरेका थिए । रुपन्देही, पाल्पा, कपिलबस्तु र नवलपरासीका ३० जना पत्रकारहरुको तालिममा सहभागिता थियो । कार्यक्रमको सञ्चालन पत्रकार लक्ष्मण पोखरेलले गरेका थिए ।