लोकसेवाको विज्ञापनमा तेस्रोलिङ्गीलाई समावेश गर्न माग

प्रकाशित मिति:

काठमाडौं – सरकारले खुला गर्ने लोकसेवाको विज्ञापनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई समावेश गर्न माग गरिएको छ ।समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शनिबार निलहिरा समाजले आयोजना गरेको ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समसामयिक अन्तक्र्रिया तथा छलफल’मा समाजबाट अपहेलित भएको तेस्रोलिङ्गी समुदायलाई लोकसेवाको विज्ञापनमा समावेश गर्नुपर्ने बताइएको हो ।

कार्यक्रममा महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको महत्वपूर्ण भूमिका रहेको बताए । ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समस्या समाधानका लागि नेपाल प्रहरी तत्पर छ’, उनले भने । नेपाल प्रहरीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई समुदाय–प्रहरी साझेदारीमा समावेश गरेको उनको भनाइ थियो ।

महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख, प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले कानूनको पालना गरेर अगाडि बढे प्रहरीले सहयोग गर्ने विश्वास व्यक्त गरे । ‘संविधानले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारलाई ‘ग्यारेन्टी’ गरेकोले सम्मानित भएर बाँच्नका लागि बाटोमा होइन, नयाँ जागिरको खोजी गर्नुपर्छ,’ उनले भने ।

टोखा नगरपालिका–९ का अध्यक्ष जोगप्रसाद नेपालले खुलारूपमा यौन व्यवसाय सञ्चालन गर्न कानूनले नदिएको भन्दै व्यापार व्यवसाय गरेर अगाडि बढ्न यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई सुझाव दिए । खुर्सानीटार टोल सुधार समितिका उपाध्यक्ष हरिश चन्दले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई राज्यले हेर्नुपर्ने बताए । – मेरोस्टडी