भानुजयन्तिमा राष्ट्रकविलाई अभिनन्दन

प्रकाशित मिति:

काठमाडौं – आइतबार विश्वभर नेपाली भाषीहरूले २०६औं भानुजयन्ति मनाइरहेका छन्। भानु जयन्तिकै अवसर पारेर नेपालमा पनि देश भित्र र बाहिर रहेका साहित्यिक संस्थाको जमघटमा भानुभक्तको कृतित्व र व्यक्तित्वका आयामलाई समेटेर विभिन्न कार्यक्रम आयोजना गरिएको छ।
भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई उनकै कद बराबरको अभिनन्दन पत्रमार्फत् सम्मान पनि गरियो।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रकवि घिमिरेलाई उनकै कद बराबरको अभिनन्दन पत्र प्रदान गरेर सम्मान गरेका हुन्। भानु प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाली साहित्य परिषद् सिक्किम, असम नेपाली साहित्य सभा, नेपाली साहित्य परिषद्, मणिपुर, नेपाल जनसांस्कृतिक मंच, कोलकोता, अखिल म्यान्मार देशीय हिन्दू धार्मिक संघ, म्यान्मारले भानुजयन्तिको अवसर पारेर राष्ट्रकवि घिमिरेलाई दोसल्लासहित अभिनन्दन पत्रद्धारा सम्मान गरेको हो।

त्यस अवसरमा उपप्रधानमन्त्री पोखरेलले राष्ट्रकवि घिमिरेलाई अभिनन्दन गर्न पाउनु गर्वको विषय भएको उल्लेख गरे। त्यस अवसरमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको भएको राष्ट्रकवि घिमिरेको सु–स्वास्थ्य र दीघार्यूको शुभकामना सन्देश समेत पढेर सुनाएका थिए। कार्यक्रममा बोल्दै राष्ट्रकवि घिमिरेले नेपाली भाषीहरूले आफूलाई सम्मान गरेकोमा आभार व्यक्त गरे। उनले युग अनुसार नेपालीका बारेमा मात्रै सोच्ने कविको रुपमा भानुभक्त आचार्यलाई चित्रण गरे। राष्ट्रकवि घिमिरेले विश्वमा छरिएर रहेका सबै नेपालीहरूलाई भाषाको माध्यमबाट एउटै सुत्रमा बाँध्ने भानुभक्त आचार्य सबैका पूजनीय व्यक्तित्वको रुपमा सदा रहिरहनुपर्ने पनि उल्लेख गरे।