भुवन र रीमाको ‘मिस्टर नेपाली’ प्याकअप

प्रकाशित मिति:

काठमाडौँ –अभिनेता भुवन केसीले करीब ७ वर्षपछि अभिनयमा कमब्याक गरेको फिल्म ‘मिस्टर नेपाली’ को सुटिङ प्याकअप भएको छ । आइतबार राजधानीमा आयोजित इन्डक्ल्याप पार्टीमा क्यामेरा ‘अन’ भएको ४५ दिनमा फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्देशक देव भुषालले जानकारी दिए । फिल्म तिहारको छेकोमा प्रदर्शनमा आउने बताइएको छ । तर, प्रदर्शन मिति भने तोकिएको छैन ।

देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मको छायांकन नवलपरासी र काठमाण्डौमा गरिएको हो । फिल्ममा अभिनेता भुवन केसी दोहोरो भूमिकामा छन् । उनले फिल्म करिअरमा पहिलो पटक दोहोरो भूमिका निभाएका हुन् । फिल्ममा उनी छोरा र पिताको भूमिकामा छन् । उनले निर्वाहा गरेको दुईमध्ये एक भूमिका नेगेटिभ छ । भुवन फिल्म राम्रो बनेको बताउँछन् । कार्यक्रममा बोल्दै उनले भने, ‘यो फिल्मको स्क्रिप्ट साह्रै राम्रो लागेर गरेको हुँ । दोहोरो र नेगेटिभ भूमिका भएका कारण पनि म ‘नेपाली बाबु’ बाट ‘मिस्टर नेपाली’ भएँ । फिल्म निकै राम्रो बनेको छ । मैले स्क्रिप्टको माग अनुसार अभिनय गर्ने कोशिश गरेको छु ।’ उनी ‘मिस्टर नेपाली’ राष्ट्रियता बोकेको फिल्म भएको बताउँछन् । यो फिल्ममा उनको जोडी अभिनेत्री रीमा विश्वकर्मासँग बाँधिएको छ ।

बिष्णु सपाकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, रवि डंगोलको साथमा नव–कलाकार साहिल श्रेष्ठ र कुसुम राउतलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ । यो चलचित्रमा प्रेमराज दाहालको लगानी छ । फिल्ममा हिमाल केसीको एक्सन, सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन छ । फिल्मले विदेशमा रहेका नेपालीहरुको नेपालप्रतिको मायालाई झल्काउने छ ।