प्रदेश २ का मन्त्रीहरुको एक महिनाको तलब बाढी पीडितलाई

प्रकाशित मिति:

धनुषा – प्रदेश नम्बर २ को मन्त्रिपरिषद् सदस्यले बाढी पीडितलाई एक महिना तलब दिने भएको छ। अविरल वर्षा र बाढीले प्रभावित परिवारको राहतको लागि प्रदेश नम्बर २ का मुख्यमन्त्रीदेखि राज्यमन्त्रीसम्मले एक महिनाको तलब दिने भएका हुन् । मङ्गलवार बसेको मन्त्रिपरिषदको बैठकले राहत, उद्धार तथा पुनःस्थापनालाई तीब्र बनाउने निर्णय गर्दै एक महिना बराबरको तलब राहत कार्यमा लगाउने निर्णय गरेको हो ।

बैठकले प्रदेशका सबै मन्त्री , राज्यमन्त्री र प्रदेशसभा सदस्यहरुलाई आ–आफनो क्षेत्रमा गई राहत कार्यमा जुटन पनि आग्रह गरेको छ । बाढीले प्रभावित परिवारहरुलाई राहत कार्यमा कुनै कमी हुन नदिन प्रदेशका प्रमुख सचिव दिपक सुवेदीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरि राहत आपूर्ति तथा अनुगमन समिति समेत बैठकले गठन गरेको छ । उक्त समितिले राहतका लागि आवश्यक सामग्रीको आपूर्तिसहित अनुगनम र निरीक्षण गर्नेछ । प्रदेश सरकारले यसअघि राहत वितरणका लागि प्रत्येक जिल्लालाई पठाएको १० लाख रकमको अनुगमन समेत सोही समितिले गर्नेछ । प्रदेश सरकारले यसअघि नै बाढीबाट मृत्यु हुनेको परिवारलाई ३ लाख राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ ।