अब रुपन्देहीका स्थानीय तहमा अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन हुने

प्रकाशित मिति:

रुपन्देही जिल्लाका स्थानीय तहमा अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन हुने भएको छ । यसको लागि सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीको संयोजगत्वमा समिति गठन गरेर यातायात सञ्चालनको लागि छलफललाई अघि बढाइएको हो । अन्तरपालिका यातायात सञ्चालनले रुपन्देही जिल्लाका ९ वटा स्थानीयतहरुमा सेवा पुग्ने अपेक्षा गरिएको छ । बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, कञ्चन , गैडहवा , सियारी , मायादेवी गाउँपालिका , लुम्बिनी, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकालाई जोडेर यातायात सञ्चालन गरिने भएको हो । नौवटा स्थानीय तहलाई चक्रपथले जस्तै जोड्ने सडकको लम्बाई करिब ८० किलोमिटर हुने संयोजक कार्कीले जानकारी दिए । यातायात सञ्चालनको लागि ९ वटै स्थानीय तहका प्रमुखहरुका विचमा छलफल भएको उनले बताए । राजगमार्ग सवारी सञ्चालन भएपनि भित्र सडकमा सवारी सञ्चाल नहुँदा ग्रामिण क्षेत्रका जनताले सास्ती खेप्नु परेको छ । अन्तरपालिका यातायात सेवा सञ्चालन भएपनि सर्वसाधारण जनताले सुविधा पाउने उनले बताए । यातायात सेवा सञ्चालन हुने ८० किलोमिटर मध्ये ९५ प्रतिशत भन्दा बढी सडक बनिसकेको छ । दैनिक ४८ वटा बस सञ्चालन हुने र ५० करोड रुपैयाँ निजी क्षेत्रको लगानी हुने अनुमान रहेको छ ।सडक निर्माण कार्य पूरा भैसकेपछि रुट निर्धारण, इजाजत लगायतका विषयमा स्थानीय तहबाट नै पहल गरिने र निजी क्षेत्रलाई आह्वान गरिने काकीले जानकारी दिए । स्थानीय तह सहमत भई तयारी थालिएको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले बताए । लुम्बिनी भ्रमणमा आएका आन्तरिक र वाह्य पर्यटकलाइ समेत सेवा पुग्न जँदा पर्यटन प्रवद्धनमा थप टेपा पुग्ने उनको भनाई छ । पूर्णरुपमा वातानुकुलित बस सञ्चालन गरिँदा आन्तरिक मात्र नभई लुम्बिनीमा आएका बाहृय पर्यटकहरु समेत बुटवल, सैनामैना लगायतका स्थानहरुको अवलोकन गर्न आउने विश्वास लिइएको छ ।