खानेपानीका हाकिम सुख्खानगरका वासिन्दाको घेराबन्दीमा

प्रकाशित मिति:

बुटवल – बुटवल उपमहानगरपालिका ८ सुख्खानगरका वासिन्दाले खानेपानी नपाएको भन्दै मंगलबार खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुखलाई घेराउ गरेका छन् । खानेपानीका कर्मचारीको मिलेमतोमा आफूहरुलाई पानी नदिई अन्य वडामा पठाएको भन्दै उनीहरुले कार्यालय प्रमुख वुद्धरत्न महर्जनको कार्यकक्ष घेराउ गरेका हुन् । आफ्नो वडामा जडान गरिएको बोरिङको पानी अन्यत्रका वडामा पठाएको तर आफूहरुले पानी नपाएको उनीहरुको गुनासो छ । यो वडामा २ हजार ५ सय घरधुरी छन् । खानेपानी समस्या समाधान गर्न सडक डिभिजन कार्यालयमा जडान गरिएको बोरिङ एक महिनाअघि सञ्चालनमा आए पनि सुख्खानगर क्षेत्रमा वितरण नगरी अन्यत्र जान थालेपछि स्थानीय वासिनदा आन्दोलित भएका हुन् ।

स्थानीय खगराज शर्माले खानेपानी ४/५ दिनमा एक पटक मात्र आउने र त्यो पनि धमिलो आउन थालेपछि बाध्य भएर कार्यालय प्रमुखसँग समाधानको पहल गर्न आएको बताए । उनले भने, ‘हाम्रो वडाको पानी हामीलाई छैन । कहाँ गयो त्यो बोरिङको पानी कतै खानेपानीका हाकिम र अन्य कर्मचारीको मिलेमतोमा अन्यत्र ‘सप्लाई’ त भएको छैन भन्ने आशंका पनि देखियो ।’

खानेपानी संस्थाका कार्यालयका प्रमुख महर्जनले बुटवल बहुमुखी क्याम्पस वा रामगरस्थित जनता माविमा बोरिङ जडान गरी सुख्खानगरको खानेपानी समस्या समाधानका लागि आफू लागिरहेको बताए । त्यसको लागि आफूले जनप्रतिनिधिहरुसँग पनि निरन्तर छलफल र संवाद गरिरहेको बताए । त्यस्तै स्थानीय राधेश्यामराज राजभण्डारी पटक पटक अनुरोध गर्दा पनि सुनुवाई नभएपछि बाध्य भएर कार्यालय प्रमुखसँग आउनुपरेको बताए ।

थप समाचार