कर वृद्धिको विरोधमा कांग्रेसको आन्दोलन जारी

प्रकाशित मिति:

तिलोत्तमा नगरपालिकाले कर बृद्धि गरेको बिरोधमा नेपाली काँग्रेसले बिरोध अभियानलाई तिब्र बनाएको छ । नेपाली काँग्रेस तिलोत्तमा नगर समितिले वडा वडामा कर बृद्धिका बारेमा सैद्धान्तिक जानकारी गराउँदै संघर्ष समिति गठन गरेको हो । यसै सन्दर्भमा शनिबार तिलोत्तमा वडा नं. ९ मा संघर्ष समिति गठन गरिएको छ । नेपाली काँग्रेसका क्रियाशिल भेलाले वडा सचिव कमल कंडेल संयोजक र ध्रुव न्यौपाने सहसंयोजक रहेको ४७ सदस्यीय संघर्ष समिति गठन गरेको हो ।भेलामा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले नगरपालिकाले जनतालाई चर्को करको परिवन्धनमा पार्ने हो भने लगानी आकर्षणको केन्द्र बनेको तिलोत्तमा नगरपालिकामा लगानी विकर्षण हुने बताउनु भयो । उहाँले समृद्ध नगर र स्मार्ट सिटिको अवधारणा पुरा गर्नकालागि कर प्रणालीलाई न्यूनतम बनाउन र लगानी आकर्षणमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।भेलामा बोल्दै नेपाली काँग्रेसका महासमिति सदस्य यमबहादुर खत्रीले पहिले माओवादीले चन्दा आतंक मच्चाएजस्तै गरी अहिले नेकपा सरकारले कर आतंक मच्चाएको आरोप लगाउनु भयो । उहाँले नगरपालिकाले अनैतिक तरिकाले लगाएको कर तुरुन्त खारेज गर्न माग गर्दै खारेज नगरे काँग्रेस ससक्त रुपमा आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।

त्यस्तै तिलोत्तमा नगरपालिकाका नगर सभापति हरिलाल पाण्डेले पहिले लगाएको एकिकृत सम्पत्ति कर केन्द्रीय सरकार हटाएपछि अहिले नगरपालिकाले सम्पत्ति करका नाममा जनतालाई आतंकित बनाएको बताउँदै तुरुन्त फिर्ता गर्न माग गर्नुभयो । उहाँले नगरपालिकाले कर आतंक बन्द नगरे कडा रुपमा आन्दोलन चर्काउने चेतावनी दिनुभयो । कार्यक्रममा काँग्रेस नेताहरु हरि न्यौपाने, जिल्ला सदस्य गणेश शर्मा लगायतले नगरपालिकाले करका नाममा जनतामाथि अत्याचार गरेको बताउँदै सिद्धार्थ नगरले लिने ४ हजार ७ सय, बुटवल उपमहानगरपालिकाले ६ हजार लिने व्यबसाय कर तिलोत्तमा नगरपालिकाले ३१ हजार लिने गरेको बताउँदै यसले व्यबसायीलो ठूलो अत्याचार भएको बताउनु भयो ।त्यस्तै तिलोत्तमा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष नारायण न्यौपानेले जनताको ढाड सेक्नेगरी नगरपालिकाले किन र केकालागि कर थोपरेको आफूले बुझ्न नसकेको बताउनु भयो । नेपाली काँग्रेसले शनिबार तिलोत्तमा नगरपालिकाका वडा नं. ९ सहित ६ र ११ मा संघर्ष समिति गठन गरेको छ ।