नमूना विकासका लागि ६९ जिल्लाका ८४ विद्यालय छनोट

प्रकाशित मिति:

भक्तपुर – सरकारले ८४ वटा विद्यालयलाई नमूना विद्यालय विकासका लागि छनोट गरेको छ । विभिन्न ६९ जिल्लाका पालिकाहरुमा सञ्चालित विद्यालयहरुको प्रारम्भिक मूल्याँकन पछि शिक्षा तथा मानव श्रोत विकास केन्द्रले केन्द्रबाट गरेको सत्यापनका आधारमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले ती विद्यालय छनोटको निर्णय गरेका हुन् ।

०७३ सालबाट शुरु भएको विद्यालय क्षेत्र विकास योजनाको अवधि २०७९ / ८० साल सम्म मुलुकभर एक हजार नमूना विद्यालय विकास गर्ने कार्यक्रम अन्र्तगत चालु आर्थिक बर्षमा १ सय वटा विद्यालय छनोट गर्नु पर्ने थियो । सोही योजना अनुसार गत बर्ष असार १ गते केन्द्रले जारी गरेको सूचनाका आधारमा निवेदन हालेका मध्ये निर्वाचन क्षेत्रगत रुपमा १६ वटा विद्यालय मात्रै छनोट गरिएको थियो । सोही सूचनाका आधारमा निवेदन हालेका र गत चैत ५ गते पुन शुरु गरिएको अर्को प्रकृयामा सामेल भएका विद्यालयहरु मध्ये बाँकी ८४ विद्यालयलाई छनोट गरिएको केन्द्रले जनाएको छ । आर्थिक बर्ष सकिन ३ दिन बाँकी हुँदा गत शुक्रबार मन्त्री पोखरेलले विद्यालय छनौटको निर्णय गरेका थिए । हेर्नुहोस् छनोट भएका विद्यालयको नामावली :


नमूना विद्यालय विकास एवम् सञ्चालन निर्देशिका अनुसार नमूना विद्यालय विकासका लागि छनोट प्रक्रियामा आवेदन परेका दोस्रो चरणका जिल्ला तथा विद्यालयहरुमा स्थलगत अनुगमन तथा सत्यापन कार्य पछि विद्यालय छनोट गरिएको केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाका निर्देशक गेहनाथ गौतमले बताए । ‘शिक्षा विकास तथा समन्वय एकाइबाट प्रारम्भिक मूल्याङ्कन गरिएकामा सत्यापनबाट स्थानीय तहगत रुपमा उच्चतम अङ्क प्राप्त गर्ने विद्यालयलाई छनोट गरिएको हो’ उनले भने, ‘विद्यालय छनोट गर्दा आवेदन परेका जिल्लालाई आधार नमानी स्थानीय तहलाई आधार मानिएको छ, तर आवेदक विद्यालय रहेका जिल्लामा कम्तीमा एक विद्यालय नछुटाउने विधि अनुसार काम सकिएको हो ।’

प्रत्येक पालिकाबाट उच्चतम अङ्क प्राप्त गर्ने बढीमा २ ओटा विद्यालयको सक्कलै फाइल स्थानीय तहको सिफारिस सहित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाउनु पर्नेमा कतिपय पालिकाबाट दुइभन्दा बढी विद्यालय सिफारिस भएकाले एक स्थानीय तहबाट एउटा मात्र आवेदन रहेका विद्यालयलाई छनोटमा प्राथमिकता दिईएको उनले बताए । सत्यापनबाट कुल प्राप्ताङ्कको फरक ३ अङ्क वा सो भन्दा कम अङ्कको अन्तराल भएमा यस्ता विद्यालयहरु मध्ये कुनै एकलाई छनोट गरिएको पनि गौतमले जानकारी दिए । सबै स्थानीय तहमा कम्तिमा एक नमूना विद्यालय पर्ने गरी क्रमशः वितरण गरिने र यस पटक छुटेका विद्यालयलाई आगामी बर्षका कार्यक्रममा सहभागी गराईने केन्द्रले जनाएको छ । अहिले सम्म यो बाहेक २ सय २२ विद्यालय नमूना विद्यालयका रुपमा छनौट भईसकेका छन् । एडुखबर