आजबाट दक्षिणायन सुरु, श्रावण संक्रान्ति, महिमा सहित हेर्नुहोस् आजको दिन २०७६ श्रावण १ गते

१ श्रावण २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल श्रावण महिनाको १ गते बुधबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावण कृष्णपक्ष प्रतिपदा तिथि राति ३ ,१९ बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । उत्तराषाढा नक्षत्र राति १०।३५ बजेसम्म रहनेछ । आज विष्कुम्भयोग र बालव करण रहेको छ । यसैगरी आज सूर्योदय ५।२० मा छ भने सूर्यास्त बेलुका ६।५९ बजे हुनेछ ।

चन्द्रमा आज मकर राशिमा छन् । आजबाट सूर्य दक्षिणायनमा लाग्नेछन् । आजको तुलनामा भोलि सूर्य केही दक्षिण दिशातिर सरेर उदाउनेछन् । दक्षिणयन देवताका लागि रात हो भने दैत्यका निम्ति दिन रहने गर्दछ । यसैगरी आजबाट सूर्य कर्कट राशिमा संक्रमित भएकाले आज साउने संक्रान्ति पनि हो । संक्रान्तिमा स्नान, दान, जप, तर्पण आदि कार्य शुभ रहन्छन् । यसैगरी आज सत्यनारायण भगवान्को उपासना पनि गर्न सकिन्छ । आजबाट वर्षा ऋतुको पनि आरम्भ भएको छ । श्रावण १ गते नै चान्द्र महिनाको पनि श्रावण कृष्णप्रतिपदा तिथि आज पर्न गएको छ ।

साँस्कृतिक चलन अनुसार आज लुतो फल्ने कार्य हुने गर्दछ । साउने संक्रान्तिको बेलुका अग्नि प्रज्वलित गरी कुकुरडाइनाका पातमा दाउरा बाँधेर लुतेसरो, भोटेसरो, भलायो आदिसहित बालेका अगुल्टा आठ दिशामा फ्याक्नाले अन्नमा सह आउनुका साथै भूत प्रेतको भय रहँदैन भन्ने जनविश्वास रहेको छ । यसैगरी आजबाट नै दक्षियणायन लाग्ने भएकाले असुर जागा रहने भएकाले उक्त असुरजन्य भयबाट निवृत्तिका निम्ति पनि आठै दिशामा उक्त आगाका अगुल्टा फालिएका हुनसक्छन् । यसैगरी कुरिलो डडाएर चड्काउनुका साथै बारीका मकै पनि देवी देवताको स्थानमा चढाएर नयाँ मकै खान आरम्भ गर्ने हाम्रो मौलिक संस्कृति रहेको छ । उपप्राध्यापक नारायणप्रसाद निरौला  ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५ – हरेकपल बाट साभार

फेसबुकबाट तपाईको प्रतिक्रिया