साउने संक्रान्ति : पूजादेखि लुतो फ्याँक्नेसम्म

१ श्रावण २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
190 Shares


नेपाली संस्कृतिमा विशेषगरी दुईवटा संक्रान्तिको विशेष महत्त्व छ, माघे र साउने। साउने संक्रान्तिसँगै नेपालीहरूका अधिकांश चाडपर्व आउने भएकाले पनि नेपाली संस्कृतिमा यसको विशेष महत्त्व छ । निरयण मानअनुसार सूर्य कर्कट राशिमा पुग्ने र दक्षिणायन हुने कारण ज्योतिष तथा धर्मशास्त्रमा यो दिनको विशेष महत्त्व छ ।

के हो संक्रान्ति ? चल सौरमानको पात्रोअनुसार वर्षमा वैशाखदेखि चैतसम्मका १२ महिना छन् । ज्योतिषशास्त्र अनुसार सूर्य यी महिनामा मेषदेखि मीनसम्मका बाह्र राशिमा रहन्छ । वैशाख महिनामा सूर्य मेष राशिमा रहन्छ भने जेठमा वृष राशिमा । यसै क्रमले फागुनमा कुम्भ हुँदै चैत्रमा मीन राशिमा पुग्छ । अर्थात् सूर्यले एक राशिमा एक महिना बिताउँछ । यसरी नै सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गर्ने दिन अथवा महिनाको पहिलो दिनलाई नै संक्रान्ति भनिएको हो ।

अयनका कुरा अयन अर्थात् सूर्यको दिशा हो । सूर्य दक्षिण र उत्तर गरी दिशामा रहन्छ । अर्थात् सूर्य जतातिर ढल्किन्छ, त्यसैलाई अयन भनिन्छ । सूर्य साउनदेखि पुससम्म ६ महिना दक्षिणतर्फ भएर रहन्छ । यसैले यो समयलाई दक्षिणायन भनिएको हो । माघदेखि असारसम्म सूर्य ६ महिनासम्म उत्तरतिर रहने भएकाले यो समयलाई उत्तरायण भनिएको हो । साउने संक्रान्ति आसपासदेखि दिन घट्दै जाने र रात लामो हुने विश्वास गरिन्छ । सायन मान मान्नेहरूले असारको ७ गतेतिरै दक्षिायन भएको मान्छन् । यस्तै पुसको ७ गते नै उत्तरायण भएको मान्छन् । अयन परिवर्तन साउन १ र माघ १ मै हुन्छ भन्ने पक्षलाई सायनवादीहरू मान्दैनन् । साउने संक्रान्तिदेखि दिन घट्दै जाने र रात लामो हुने विश्वास गरिन्छ । दक्षिणायनलाई मांगलिक कार्यका लागि उपयुक्त मानिँदैन । विवाह, व्रतबन्ध, नवगृह निर्माण–प्रवेश लगायतका मांगलिक कार्य यतिवेला गर्नुहुँदैन भन्ने मान्यता छ । मांगलिक कार्यका साथै अन्य विशेष कार्यका लागि पनि माघदेखि असारसम्मको अवधि अर्थात् उत्तरायणलाई नै उपयुक्त मानिएको छ ।

सामाजिक पक्ष यो दिन बिहान सबेरै उठी स्नान गरी सन्ध्या–वन्दन, सूर्योपासनालगायत गरी ब्राह्मण पुरोहितबाट अयनफल सुन्ने चलन छ । कतिपय जातजातिले यस दिनलाई प्रकृतिको पूजा गर्ने र भविष्यको योजना बनाउने दिनका रूपमा लिन्छन् । पूर्वतिर किरातलगायतका समुदायले एकाबिहानै वन जंगलबाट फलफूल खोजेर ल्याई घरको मूल ढोकामा झुण्ड्याउने गर्छ । साँझपख थाल नाङ्लो र ढोल बजाइ भूतप्रेत भगाइन्छ ।
यस्तै सुदूर पश्चिमतिर पनि अगुल्टो फ्याँक्दै रोगब्याधि तथा खराब तत्त्वलाई भगाउने चलन अझै छ । काठमाडौंलगायतका स्थानमा बसोबास गर्ने नेवार समुदायले यस पर्वलाई महत्त्वका साथ मनाउँछ । साउने संक्रान्तिका अवसरमा छोरीचेलीलाई बोलाएर ख्वाउने सबैजसो समुदायमा चलन छ । सनातन धर्मअन्तर्गतका महत्त्वपूर्ण चाडपर्व पर्ने भएकाले साउने संक्रान्ति मात्र नभई पूरा महिनाकै महत्त्व छ ।

आर्थिक पक्ष नेपाली समाजमा आर्थिक कारोबारको दृष्टिले पनि साउन १ गतेलाई विशेष दिन मानिन्छ । पैसा लेनदेन गर्नेहरूले नयाँ वर्षको शुरुको दिन साउन १ गतेलाई नै मान्छन् । नेपाल सरकारको आर्थिक वर्ष पनि यसै दिन शुरु हुन्छ । सरकारी आयव्ययको विवरण साउन १ देखि असार मसान्तसम्मका लागि हुन्छ । निजी क्षेत्रका कार्यालयहरूले पनि साउने संक्रान्तिदेखि नै नयाँ हिसाब राख्ने गर्छन् । यो वेला वर्षाको मध्य पर्ने भएकाले नेपाली जनजीवनमा खेतीपाती लगायतका कार्य चल्ने गर्छ । हाम्रोजस्तो कृषिप्रधान मुलुकका मानिसहरूलाई असारमा रोपेको मानोलाई कसरी मुरी बनाउने भन्ने ध्येय हुन्छ । असारमा रोपाइँ सकिएलगत्तै साउनमा कतिपय ठाउँमा धान गोड्ने कार्य शुरु हुन्छ । दुईबाली धान लाग्ने स्थानमा त हिउँदे धान भित्र्याएर वर्षे धान रोप्ने चटारो हुन्छ ।

स्वास्थ्यका दृष्टिले लौकिक चलनअनुसार यो दिन गाउँघरमा लुतो फ्याँक्ने गरिन्छ । निबुवा लगायतका अमिला फलफूल, कुरिलो, कुकुरडाइनो, भलायोलगायतका वनस्पतिहरू बिहानै घरमा ल्याएर राख्ने साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन गाउँघरतिर अझै रहेको छ । नीम, कुरिलो, पानीसरो, तितेपाती आदि वनस्पति जम्मा पारी बलिरहेको बत्ती वा अगुल्टो चारै दिशामा मिल्काउनुलाई लुतो फ्याँकेको भनिन्छ । त्यसो गर्दा चर्मरोग नलाग्ने जनविश्वास छ ।

कतिपय स्थानमा साउने संक्रान्तिमा तिउरी कुटेर रस हातगोडाका नङमा लगाउने चलन पनि छ । महिलाहरूले मेहन्दी लगाउने चलन पनि यसैबाट आएको होला भन्ने अनुमान गर्न सकिन्छ । असारमा अधिकांश मानिस खेतीपातीमा व्यस्त हुन्छन् । अधिकांश समय हिलोमा रहनुपर्दा आँखाले देखिने नदेखिने किराले छालामा विभिन्न समस्या निम्त्याउँछ । विशेषगरी लुतोलगायतका समस्याले सताउँछ । खेतबारीमा काम गर्ने क्रममा सरसफाइमा ध्यान नपुग्दा यस्ता समस्या आउँछन् । आयुर्वेदका समेत जानकार रहेका चिकित्सक सम्मोद आचार्यका अनुसार ‘सार्काेटिप्स स्क्याबी’ नामक सूक्ष्म जीवाणुबाट लुतो सर्छ । यसको उपचार हाम्रै घरआँगन, वनजंगललगायतमा पाइने जडिबुटीबाट गर्न सकिन्छ । लुतोको आधुनिक उपचारपद्धति र औषधी धेरै भए पनि आयुर्वेदिक औषधी नै उपयुक्त हुने देखिएको छ ।

चर्मरोगमा गाउँघरमा सहजै पाइने निमका विरुवा प्रयोग गर्न सकिन्छ । निमका साथै शुद्व बेसार पनि प्रयोग गर्न सकिन्छ । घ्यूकुमारीको प्रयोगले पनि धेरै चर्मरोग निको पार्न सकिन्छ । साउने संक्रान्तिमा यस्ता वनस्पति जम्मा गर्ने मात्र होइन प्रयोग गरेर लाभ लिनु पनि भनेको हो । अहिलेचाँहि यी वनस्पति शरीरमा छुवाएर मात्र बाहिर फ्याँक्ने चलन छ । दियो वा अगुल्टो बालेर घुमाउनुको अर्थ किराफट्यांग्रा धपाउनु हो । तितेपातीलगायत वनस्पतिलाई सुकाएर बाल्दा बर्खायाममा आउने लामखुट्टेजस्ता किराहरू निर्मूल हुन्छन् । त्यसैले हाम्रा खेतबारीमा भएका जडिबुटी चिन्न, तिनको महत्त्व बुझेर लाभ लिन तथा स्वास्थ्यप्रति सचेत बन्न साउने संक्रान्तिको विशेष महत्त्व छ । – खबरहब

फेसबुकबाट तपाईको प्रतिक्रिया