ट्रम्पविरुद्ध अमेरिकी सदनमा खेद प्रस्ताव पारित, सांसद भन्छन्- ट्रम्प देश विभाजन गराउन चाहन्छन्

प्रकाशित मिति:

वासिङ्टन- ४ महिला सांसदमाथि कथित नस्लीय टिप्पणी गरेपछि अमरिकी तल्लो सदन कंग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीको निन्दा गर्दै खेद प्रस्ताव पारित गरेको छ। प्रस्तावमा ट्रम्पको टिप्पणीलाई नस्लवादी र विदेशी नागरिकमाथि घृणा गर्ने शैलीबाट आएको बताउँदै भनिएको छ- ‘यो भनाइले नयाँ अमरिका माथिको भय र घृणालाई वैध करार गर्छ।’ कंग्रेसमा उक्त प्रस्तावको पक्षमा २ सय ४० भोट खसेको थियो। जसमा १ सय ८७ प्रजातान्त्रिक सांसदहरुले भोट हालेका थिए। ४ सय ३५ सदस्य रहेको यो सदनमा ६ जनाले भोट गर्न पाउँदैनन्। २ सय १८ सांसद पक्षमा रहे कुनै प्रस्ताव बहुमतले पारित हुन्छ।

ट्रम्पले चार महिला सांसद, जो अमरिकी नागरिक थिए, लाई इन्गित गर्दै अमरिका छोड्ने सल्लाह दिएका दिए। ट्रम्पको सो ट्विटलाई लिएर व्यापक आलोचना भइरहेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरु ट्रम्पलाई नस्लवादीको संज्ञा दिइरहेका छन्। जसको जवाफमा ट्रम्पले रिट्विट गर्दै आफू नस्लवादी नभएको जिकिर गरेका छन्। ‘त्यो ट्विट नस्लवादी थिएन, म नस्लवादी होइन,’ ट्रम्पले भनेका छन्। अमेरिकी कंग्रेसमा आफ्नो अभिव्यक्ति विरुद्ध सांकेतिक प्रस्ताव पेस गर्ने तयारी भइरहँदा उनले आफ्नो बचाउ गरेका थिए। उक्त प्रस्ताव पारित भए पनि यसको कुनै कानुनी मान्यता रहँदैन। तर, प्रजातान्त्रिक विचारधारा मान्ने सांसदहरुको बहुमत रहेकोले पनि यो प्रस्ताव पारित भएको मानिएको छ। यसअघि ट्रम्पको निशानामा परेका ४ महिला सांसदहरु एलेक्जेन्ड्रिया ओकासियो कोरटेज, रशीदा तलीब, अइयाना प्रेस्ली र इल्हान ओमारले उनको टिप्पणीलाई ध्यान भड्काउने खालको भएको प्रतिक्रिया दिएका थिए। उनीहरुले सोमबार एक पत्रकार सम्मेलन गर्दै उक्त भनाइलाई नजरअन्दाज गर्न अमेरिकी जनतासामु अपिल गरेका थिए। राष्ट्रपति ट्रम्पले आइतबार आफ्नो ट्विटमा यी महिलाको सांसदको नाम भने उल्लेख गरेका थिएनन्। तर, ट्विटमा उठाइएको प्रसंगका आधारमा मानिसहरुले उक्त ट्विट उनै प्रजातान्त्रिक महिला सांसदहरु प्रति नै लक्षित रहेको बताएका/बुझेका थिए।

ट्रम्पले ट्विटमा ‘ती महिला सांसदहरु मुलरुपमा यस्तो देशका हुन्, जसका सरकारहरु पूरापूर विनाशकारी सोचयुक्त छन्’ भनेपछि विवादमा मुछिएका थिए। जबकि यी महिला सांसदमध्ये ३ महिलाको जन्म अमेरिकामै भएको हो र एकको जन्म सोमालियामा भए पनि बाल्यकालदेखि नै अमेरिकामा छिन्।
महिला सांसदहरुको टिप्पणीपछि ट्रम्पले ट्विटमा भनेका थिए, ‘यदि तपाईं खुसी हुनहुन्न, हर समय आलोचना मात्रै गर्नुहुन्छ भने तपाईं जान सक्नुहुन्छ।’ विवाद बढेपछि चारै जना महिला सांसदले पत्रकारसमक्ष आफूहरुले ‘राष्ट्रपतिबाट आफ्ना नीतिहरुमा पुनः ध्यान जाओस्’ भन्ने चाहेको बताएका थिए। सांसद प्रेस्लीले भनिन्- ‘यो भयंकर अराजकता र ट्रम्प प्रशासनको भ्रष्ट संस्कृतिबाट ध्यान भड्काउन गरिएको एक कोशिस मात्र हो।’ तलीब र ओमारले ट्रम्पका विरुद्ध महाभियोग चलाउन सकिने दोहोर्‍याएका थिए। सांसदहरुको भनाइको प्रतिक्रियास्वरुप मंगलबार ट्रम्पले सांसदहरुले निकै खराब तथा घृणित कुरा गरेको टिप्पणी गरेका थिए।

‘ट्रम्प देशलाई विभाजन गराउन चाहन्छन्’ सांसद प्रेस्लीले राष्ट्रपति ट्र‍म्पको टिप्पणीको खण्डन गर्दै आफूहरुलाई दबाउन र आवाज बन्द गराउने प्रयास भएको बताइन्। उनले आफूहरु पक्षमा न्यायसंगत दुनियाँ देख्न चाहने हर कोही व्यक्ति रहेको दाबी गरिन्। चारै जना सांसदहरुले स्वास्थ्य सेवा, गोली प्रहार गरी हुने हिंसा र विशेषरुपमा मेक्सिकोबाट अमेरिका छिर्न चाहने आप्रवासीहरुमाथि लगाइने रोकका सम्बन्धमा सरकारलाई केन्द्रित हुन आग्रह गरेका थिए। ओमारले भनिन्, ‘इतिहासको आखाँले हामीलाई देखिरहेको छ। विशेषगरी सीमामा आप्रवासीहरुमाथि अधिक संख्यामा भइरहेको मानवअधिकार उल्लंघनको घटनाको म निन्दा गर्दछु।’ ट्रम्पले गैर-युरोपेली तथा अमरिकी महिलामाथि भएको ‘नस्लीय हमला’ श्वेत राष्ट्रवादीको एजेन्डा भएको समेत उनको ठहर थियो। सांसद ओमारले भनिन्, ‘राष्ट्रपति ट्रम्प देशलाई विभाजन गराउन चाहन्छन्।’

आप्रवाशीको मुद्दा उठेपछि ट्रम्पको असन्तुष्टि शुक्रबार कोरटेज, तलीब र प्रेस्लीले सदनको समिति बैठकमा एक आप्रवाशी सुरक्षा केन्द्रको अवस्थाको दुर्दशाको बारेमा कुरा उठाएका थिए। यी तीनै सांसदले सो क्षेत्रको अवलोकनपछि मात्रै यस सम्बन्धमा कुरा उठाएको बताइएको छ।‍

बैठकमा उनीहरुले अमेरिकाको झन्डामुनि नै आप्रवाशीहरुमाथि गलत व्यवहार भएको भन्दै चिन्ता प्रकट गरेका थिए। राष्ट्रपति ट्रम्पले उनीहरुको सवालमाथि ट्विट गर्दै आप्रवाशीका लागि बनाइएका सुरक्षा केन्द्रहरुमा बालकालिकाहरु रहने ‘सेल्टर’ अति नै राम्रो भएको प्रतिक्रिया मिलेको जनाएका थिए। तर, जहाँ बालबालिका बाहेकका व्यक्तिलाई राखिएको छ त्यस्ता केन्द्रहरुमा भने अपराधको दर बढी भएको उनले उल्लेख गरेका थिए। ट्रम्पले अमेरिकी सीमा क्षेत्रले अहिले संकटको सामना गरिरहेको बताउँदै सो स्थानमा खटिने सीमा सुरक्षा अधिकारी र कर्मचारीको बजाउ गरे। ट्रम्प प्रशासनले हालै मात्र एक नियम बनाएको छ। जो मंगलबारदेखि कार्यान्वयनमा आइसकेको छ। उक्त नियमअनुसार अमेरिका प्रवेशका लागि आवेदन दिएका यस्ता व्यक्तिलाई शरण दिइने छैन, जो अमेरिकाको दक्षिणी सीमा पार गर्नुभन्दा पहिले कम्तीमा एक तेस्रो मुलुकमा सुरक्षाका लागि आवेदन दिएको नहोस्। न्युजिल्यान्ड, क्यानडासमेत धेरै देशहरुले ट्रम्पको टिप्पणीको आलोचना गरेका छन्।