प्रचण्डलाई इन्फेक्सन

प्रकाशित मिति:

काठमाडौं – सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका छन् । प्रचण्डलाई घाँटीको संक्रमण भएको हो । खुमलटार उच्च स्रोतका अनुसार चिकित्सकले केही दिन नबोल्न (भ्वाइस रेष्ट गर्न) र घरमै आराम गर्न सुझाव दिएका छन् । धुलो र धुवाँका कारण प्रचण्डलाई ‘इन्फेक्सन’ भएको चिकित्सकले बताएका छन् । चिकित्सकको सुझाव बेवास्ता गर्दै मंगलबारसम्म उनले राजनीतिक दौडधुप गरेका थिए । मंगलबार मात्र प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीसँग केन्द्रीय सदस्य, विभाग र जिल्लाका इन्चार्ज, सह–इन्चार्जलगायतको जिम्मेवारी तोक्नेबारे प्रचण्डले वार्ता गरेका थिए ।

बुधबार भने परिवार र सचिवालयका कर्मचारीले प्रचण्डलाई राजनीतिक गतिविधिमा सहभागी नहुन दबाब दिएपछि उनी घरमै आराम गरिरहेका छन् । ‘जति भने पनि स्वास्थ्यको ख्यालै नगरी एकोहोरो काममा लाग्नुहुन्छ’, प्रचण्डको सचिवालयका एक सदस्यले काठमाण्डुटुडेसँग भने, ‘आज (बुधबार) चाहिं हामीले कसैलाई पनि भेट्न दिएनौं, बाहिर निस्कन पनि दिएनौं ।’