विप्लव समूहसँग धेरै पटक अनौपचारिक वार्ता मात्रै भएको छ : सोमप्रसाद पाण्डे

प्रकाशित मिति:

काठमाडौं- राजनीतिक वार्ता टोलीका पूर्व-संयोजक सोमप्रसाद पाण्डेले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग वार्ता भए पनि त्यसले औपचारिकता पाउन नसकेको बताएका छन्। बुधबार रिपोर्टर्स् क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफूलाई सरकारले दिएको संयोजकको जिम्मेवारीको समय सकिएकाले धेरै पटक विप्लव समूहका नेताहरुसँग अनौपचारिक वार्ता र छलफल भए पनि औपचारिता प्राप्त गर्न नसकेको बताएका हुन्। सरकारले पाण्डेको संयोजकत्वमा २०७५ साल भदौ ८ गते उच्चस्तरीय राजनीतिक वार्ता टोली बनाएको थियो। संयोजकका लागि पाण्डेलाई सरकारले दिएको समय सकिएको छ। नेकपाका सांसदसमेत रहेका पाण्डेले आफूले विप्लव समूहका केन्द्रीय सदस्य गुणराज लोहनीलगायत पोलिटब्युरो सदस्यहरुसँग छलफल गरेको भए पनि सञ्चारमाध्यममा आएजस्तो नभएको स्पष्ट पारे।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले कांग्रेस वार्ता तथा संवादको पक्षमा रहेको भन्दै वार्तामार्फत समस्या समाधान गर्नुपर्ने धारणा राखे। राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीले राजनीतिक परिर्वतनपछि पनि जनताले चाहे अनुसारको सुशासन कायम हुन नसक्दा समस्या सिर्जना भएको भन्ने कुरालाई ठूला दलका शिर्ष नेता र सरकारले बुझ्नुपर्नेमा जोड दिए। समाजवादी पार्टी, नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारलाई वार्तामार्फत समस्याको समाधान खोज्न आग्रह गरे।