दुई पांग्रेमा यात्रु बोक्ने भए कालो नम्बरप्लेट प्रयोग गर्नुपर्ने !

प्रकाशित मिति:

काठमाडौं – यातायात व्यवस्था विभागले टुटल र पठाओलाई व्यवस्थित गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पठाएको छ । यी दुई कम्पनी साथै अन्य कुनै पनि व्यवसायिक व्यक्ति वा संघसंस्थाले मोटरसाइकलमा कालो नम्बरप्लेट अनिवार्य राखेर मात्र यात्रु बोक्ने र भाडा उठाउन पाइने नियमका लागि विभागले मन्त्रालयलाई प्रस्ताव पठाएको हो । मन्त्रालयले विभागको प्रस्तावलाई कानुनीरुपमा स्वीकृति दिएर उक्त व्यवस्था लागु गर्ने निर्णय गरेपछि कालो नम्बरप्लेट राखेर मात्र मोटरसाइकलले यात्रु बोक्न पाउनेछन् । विभागका महानिर्देशक कुमारप्रसाद दहालले यातायात क्षेत्र सुधारका लागि मन्त्रालयमा पठाएको प्रस्तावमा टुटल र पठाओजस्ता कम्पनीलाई नियमन गर्न यात्रु बोक्ने सवारी साधनले कालोनम्बरप्लेट अनिवार्य लगाउनुपर्ने व्यवस्थालाई प्राथमिकतामा राखेका हुन् । हाल यी कमपनीले रातो नम्बरप्लेटका मोटरसाइकलमा नै यात्रु ओसार्दै आएका छन् । कार्यान्वयनमा रहेको सवारी तथा यातायात व्यवस्था ऐन, ०४९ मा रातो नम्बरप्लेटका सवारी साधन निजी प्रयोजनमा मात्र सञ्चालन हुनुपर्ने व्यवस्था छ । तर विशेषगरी काठमाडौंमा टुटल र पठाओले डेढ वर्षदेखि रातो नम्बरप्लेटकै मोटरसाइकलमा यात्रु ओसार्ने गरेका छन् ।

“म विभागमा आएको केही समयमा नै यातायात क्षेत्रमा सुधार गर्नुपर्ने क्षेत्र निर्धारण गरेर टुटल र पठाओलाई व्यवस्थित गर्न उनीहरुले प्रयोग गर्ने, गराउने मोटरसाइकलमा अनिवार्य कालो नम्बरप्लेट राख्नुपर्ने उल्लेख गरेको हुँ,” विभागका महानिर्देशक कुमारप्रसाद दहालले भने । यसबारे मन्त्रालयले कानुनी स्वीकृति दिएपछि विभागले यो व्यवस्था कार्यान्वयन गराउने छ । यातायात सुधारका अरु पनि विषयमा मन्त्रालय छलफलमा भएकाले टुटल र पठाओलाई व्यवस्थित गर्न विभागबाट आएको सुझावबारे मन्त्रालयले स्वीकृति दिनका लागि आवश्यक कानुनी गृहकार्य गरिरहेको मन्त्रालयको कानून शाखा प्रमुख, उपसचिव गोपीलाल नेपालले बताए । “मन्त्रालयबाट कानुनी स्वीकृति आएपछि कालो नम्बरप्लेट लगाएर मात्र मोटरसाइकलले यात्रु ओसार्न पाउने छन्,” महानिर्देशक दहालले भने ।

ऐनअनुसार रातो नम्बरप्लेट भएको सवारीले यात्रु बोक्न नपाइने व्यवस्था भएकाले टुटल र पठाओलाई व्यवस्थित गर्नका लागि कालो नम्बरप्लेट लागु गर्न विभागले पहल गरेको विभागका निर्देशक बन्धुप्रसाद बाँस्तोला बताउछन् । “यसका साथै मोटरसाइकलले भाडामा यात्रु बोक्दा भोलि सडक दुर्घटनामा परेर यात्रुको ज्यान तलमाथि पर्‍यो भने त्यसको जिम्मा कसले लिन्छ ?” बाँस्तोलाले भने, “त्यसैले चालक र मोटरसाइकल प्रयोग गर्ने यस्ता कम्पनीलाई अनिवार्य उद्योग वा कम्पनीमा दर्ता गराएर, राजश्व तिराएर, चालक र यात्रु बीमा सुरक्षित गराएर र कालो नम्बरप्लेट भएका मोटरसाइकलले मात्र यात्रु बोक्न दिनुपर्छ ।” भारत, चीन र अमेरिकामा मोटरसाइकलले यात्रु बोक्ने गरेको र नेपालमा पनि यस्तो प्रयोग हुनु सामान्य भएको टुटल र पठाओ प्रतिनिधिको भनाइ छ । विभागले कालो नम्बरप्लेट राखेर मात्र मोटरसाइकल चलाउनुपर्ने नियम ल्याउनेबारे आफूहरुले आधिकारिक रुपमा नसुनेको र यसबारे नियम आएपछि मात्रै बोल्न मिल्ने पठाओका मेनेजर शशाङ्क थापाले बताए । हाल उपत्यकामा करिब २० हजार मोटरसाइकल टुटल र पठाओ कम्पनीमा संलग्न भएर भाडामा यात्रु ओसारीरहेका छन् । “यात्रु बोक्ने मोटरसाइकल र टुटल, पठाओ प्रयोगकर्ता उल्लेख्य रुपमा बढे पनि यात्रुको जीवनबीमा सुरक्षित नहुँदा र निजी मोटरसाइकल भाडामा सञ्चालन हुँदा सडक दुर्घटना र अदालतमा मुद्दा परेको अवस्थामा चालक र यात्रुहरुलाई नै अफ्ठ्यारो आउनसक्छ,” निर्देशक बाँस्तोलाले भने, “यसैले आर्थिक र कानुनी रुपमा यात्रु र चालकलाई बलियो बनाउन भाडा उठाएर यात्रु बोक्ने मोटरसाइकललाई कालो नम्बरप्लेट अनिवार्य गरिनुपर्छ भन्ने हाम्रो प्रस्ताव हो ।”

थप समाचार