कांग्रेसको उदाहरणिय कार्य : बाढीपहिरोका मृतक परिवारलाई २५ हजार

प्रकाशित मिति:

हेटौंडा – नेपाली कांग्रेस मकवानपुरले हालैको अविरल वर्षाका कारण बाढीपहिरोमा ज्यान गुमाएका मकवानपुरका ५ जनाको परिवारलाई जनही २५ हजार राहतस्वरुप प्रदान गर्ने भएको छ । बैठकले अविरल वर्षा एवम् बाढीपहिरोमा परेर ज्यान गुमाएकाको परिवारप्रति समवेदना व्यक्त गरी सरकारसँग तत्काल राहत उपलब्ध गराउन माग गरेको छ । पार्टीको विहीबार बसेको जिल्ला कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । बिहीबारदेखिको वर्षाका कारण बाढीपहिरोमा परी मकवानपुरमा मृत्यु हुनेको संख्या ५ पुगेको हो । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा घरमा लडेको पहिरोमा परेर आमाछोरी कान्छीमाया बलामी र १८ वर्षीया बबिताको शव सोमबार फेला परेसँगै मृतकको संख्या ५ पुगेको हो ।

वर्षाले मकवानपुरको थाहानगर–३ को महभीर खोलाले बगाउँदा बालिका सञ्चन बलामीको मृत्यु भएको थियो । जनकल्याण माविको कक्षा–६ मा अध्ययनरत् सञ्चनलाई विद्यालयबाट फर्कने क्रममा दम्कीबाट खोलाले बगाएको थियो । कैलाश गाउँपालिका–१०, नामटारमा शुक्रबार खोलाले बगाउँदा सोही वडा बस्ने वर्ष ५५ का सानुकान्छा सुनारको मृत्यु भएको थियो । शुक्रबार नै इन्द्रसरोवर–२ मा वर्ष १४ की सृष्टि डिम्डुङको पहिरोले पुरिएर मृत्यु भएको थियो ।कांग्रेसले ३७ औं वीपी स्मृति दिवसको अवसरमा साताव्यापी कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठकले जननायक वीपी कोइरालाको स्मृति दिवसको अवसरमा साताव्यापी कार्यक्रम गर्ने निर्णय गरेको हो । वीपी कोइरालाको स्मृति दिवसमा नेवि संघ मकवानपुरले साउन ४ गते पार्टी कार्यालयमा विहान ११ बजे विचार गोष्ठी गर्ने भएको छ भने कांग्रेस ३ नम्बर क्षेत्रीय समितिले साउन ५ गते विहान ८ बजे हेटौंडा अस्पतालका बिरामीलाई फलफुल वितरण गर्ने बैठकले निर्णय गरेको छ । साउन ६ गते वीपी विचार समाजको आयोजनामा हेटौंडा–११ मा रहेको वीपी बाटिकामा विहान वृक्षरोपण र दिउँसो कांग्रेस मकवानपुर र वीपी फाउण्डेशन काठमाडौंको आयोजनामा मध्याह्न विचार गोष्ठी र साउन ७ गते विहान ७ः३० बजे नेपाल तरुण दलले बुद्धचोकमा रक्तदान गर्ने निर्णय कांग्रेस मकवानपुरको बैठकले गरेको छ । -न्युजअफनेपाल