बुद्धमूर्ति तोडफोड गर्नेलाई कारबाही गर्न कांग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँणको आग्रह

प्रकाशित मिति:

बुटवल – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुपन्देहीमा गौतम बुद्धका मूर्तिहरु तोडफोड गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बिहीबार प्रेस वक्तव्य जारी गर्दै सरकारसँग विश्वशान्तिका अग्रदूत गौतम बुद्धका मूर्तिहरु तोडफाड गर्नेमाथि कारबाहीको माग गरेका हुन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तरगत पर्ने सिद्धार्थ राजमार्गको बीच भागमा राखिएका विश्वशान्तिका अग्रदूत गौतम बुद्धको मूर्तिहरु बुधबार राति अज्ञात समूहले तोडफोड गरेको छ । राजमार्गको शंकरनगर चोकदेखि नयाँ मिलसम्म रहेका पाँच वटा बुद्धमूर्तिहरु तोडफोड गरिएको बताइएको छ ।
“विश्वमा नेपाललाई चिनाउने शान्ति र सहअस्तित्वलाई प्रेरित गर्ने भगवान गौतम बुद्धको मूर्तिहरुलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान हो,” प्रमुख सचेतक खाँणद्वारा जारी वक्तव्यमा भनिएको छ, “यसरी धार्मिक, सांस्कृतिक सहिष्णुतामा आँच आउने र धार्मिक द्वन्द्वलाई निम्त्याउने गरी नियोजित रुपमा बुद्धको मूर्तिलाई तोडफोड गर्ने कार्य अत्यन्त निन्दनीय एवं घोर आपत्तिजनक छ ।”