तिलोत्तमा नगरपालिकाको ठहर :  विकासविरोधी तत्वबाट नियोजितरुपमा बुद्धमुर्ति तोडफोड

प्रकाशित मिति:

सबलपोष्ट । बुटवल–बेलहिया ६ लेन सडक खण्डको तिलोत्तमा नगरपालिकामा पर्ने डिभाइडरमा राखिएका बुद्धमुर्ति तोडफोडलाई नगरपालिकाको लोकप्रिय कामहरुबाट अत्तालिएको विकास विरोधी तत्वबाट नियोजित र संगठित रुपमा गराइएको घटना भएको ठहर गरेको छ । रातको समयमा शंकरनगरदेखि नयां मिलचोकसम्मका पांच वटा बुद्ध मूर्ति तोडफोड गरी केही मुर्तिलाई सडकमा फ्यांकिएपछि बसेको तिलोत्तमा नगर कार्यपालिकाको आकस्मिक वैठकले उक्त घटनाको निन्दा र भत्र्सना गर्दै राष्ट्रिय विभुति, शान्तिका अग्रदुत, महामानव गौतमबुद्धका मूर्तिमा भएको तोडफोडले कानुनी राज्यको उपहास गरेको र सबै नगरबासीलाई दुःखी बनाएको ठहर गरेको छ । वैठकपछि नगर प्रमुख बासुदेव घिमिरेले प्रेस विज्ञप्ति जारी गर्दै पाँच वटा बुद्धमुर्तिमा गरिएको तोडफोडले राष्ट्रकै गहनामाथिको जघन्य अपराध तथा सबैको आस्था र विश्वासमा ठेस पुयाएको उल्लेख गरेका छन् ।

बुद्ध जन्मस्थल लुम्बिनीको महत्वलाई उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पुयाउने पवित्र उद्देश्यका साथ नगरपालिकाले प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षलाई समेत सघाउने गरी २०७६ वैशाख १ गतेबाट ६ लेन सडकमा पहिलोचरणमा योगिकुटीबाट शंकरपुरसम्म २२ वटा मुर्ति राखिएको विज्ञपितमा उल्लेख छ । नवीन सोंच र पवित्र उद्देश्यका साथ शुरु गरिएको कार्यमा सबैको साथ–समर्थन प्राप्त भैरहँदा उत्साहित भएका नगरवासीहरु एक्कासी गराइएको यो घटनाबाट निकै स्तब्ध भएको उल्लेख गर्दै पवित्र कार्यलाई बिथोल्ने, महामानवको मूर्ति तोडफोड गर्ने व्यक्ति, समूहलाई कानुनी दायरमा लिई कडा भन्दा कडा कारवाही गर्न प्रहरी,प्रशासन समक्ष नगरपालिकाले माग गरेको छ । यो कार्यमा सघाउन नेपाल सरकार, प्रदेश सरकार र सबै नेपालीमा आह्वान गर्दैं यो घटनापछि कोटिहवासम्म थप बुद्धमुर्ति राख्ने नगरपालिकाको योजनामा कुनै बदलाव नआउने र बुद्धमुर्तिको सुरक्षाका लागि विशेष व्यवस्था मिलाइने नगरपालिकाले स्पष्ट पारेको छ । सार्वजनिक सम्पत्तिलाई हानी–नोक्सानी पु¥याउने, समाजमा डर–त्रास उत्पन्न गराउने, कानुन हातमा लिने, अवाञ्छित क्रियाकलाप गर्न उक्साउने अराजक प्रवृत्तिका विरुद्ध आम नगरबासीलाई सधैं सचेत रहन नगरपालिकाले आग्रह गरेको छ । सडकको सौन्दर्यीकरण र बुद्ध जन्मस्थल लुम्बिनीको पहिचानका लागि ६ लेन सडकको मध्य डिभाइडरमा योगिकुटी देखि मंगलापुरसम्म नगरपालिकाले २२ वटा बुद्धका मुर्ति राखेको थियो । लुम्बिनी भ्रमण वर्षको अवसर पारेर गत बैसाख १ गते प्रदेश ५ सरकारका उद्योग, पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले बुद्धमर्ति अनावरण गरेका थिए । ६ लेन सडकको डिभाइडरमा नगरपालिकाले तीनसय मिटर दुरीको फरकमा बुद्ध मुर्ति राखेको छ । बुद्ध मुर्ति स्थापनाका लागि नगरपालिकाले ५० लाख रुपैयां वजेट छुट्टाएको छ । जसमध्ये गत आर्थिक वर्षको अन्त्यसम्म २३ लाख रुपैयां खर्च भएको र बांकी चालु वर्षमा खर्च गर्नेछ । उक्त मुर्तिहरु कसले किन फुटाल्यो भन्ने अहिले सम्म खुलेको छैन । घटनाको अनुसन्धान गर्न र दोषी पत्ता लगाउन इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईको संयोजकत्वमा एक टोली बनाइएको रुपन्देही जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले बताए ।