एनआरएनए जापानको आयोजनामा पोखरामा पुरुष भलिबल प्रतियोगिता हुने

प्रकाशित मिति:

टोकियो । गैर आवासीय नेपाली संघ एनआरएनए जापानले पोखरामा गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । विभिन्न क्षेत्रमा आफ्नो सहभागिता देखाउँदै आएको एनआरएनए जापानले एक फरक विषय खेलकुदको क्षेत्रमा ‘प्रथम एनआरएनए जापान गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता’ आयोजना गर्न लागेको महासचिव बुद्धि राज घिमिरेले डिसी नेपाललाई जानकारी दिए।प्रतियोगितामा एनआरएनए जापानको भलिबल टिम पनि सहभागी हुने भएको छ । प्रतियोगितामा एनआरएनए जापानले खेलाडीको उत्साह , प्रोत्साहन र क्षमता वृद्धिको लागि सहभागिता हुन लागेको जनाएको छ। खेलले देशको वाह्य मात्र नभएर आन्तरिक पर्यटन वृद्धिकोलाई पनि महत्वपूर्ण भूमिका खेल्ने भएकोले खेलकुदको क्षेत्रमा एनआरएनए जापानले बढि उत्सुकता देखाएको अध्यक्ष टासि वाङदी लामाले बताए ।

प्रतियोगिता आयोजनाको लागि मुख्य प्रायोजनसँगै जापानबाट रासपले सहजिकरण र आर्थिक व्यवस्थापनको लागि परिषदका उपाध्यक्ष शिव प्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यसमिति गठन गरेको छ । जसमा, महिला उपाध्यक्ष अनिता गुरुङ ,महासचिव बुद्धि राज घिमिरे, खेलकुद विभाग प्रमुख लिल गुरुङ, मानार्थ परिषद सदस्य श्री गुरुङ र नेपाल जापान भलिबल संघका अध्यक्ष नविन गुरुङ छन्। नेपाल जापान भलिबल संघका अध्यक्ष नविन गुरुङको विशेष भूमिका र प्रस्ताव रहेको उक्त भलिबल खेलमा गण्डकी प्रदेशका ११ जिल्लाका खेलाडीहरूको सहभागिता रहने छ। पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ पोखराको आयोजनामा राजकुमार गुरुङले कार्यक्रम संयोजकको जिम्मेवारी लिएका छन्।कार्यक्रम सम्पन्न गर्न करिव २३ लाख १२ हजार ८ सय ६६ रुपियाँ खर्च लाग्ने बताइएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ११ हजार १ सय ११ रुपियाँ, दोस्रो हुने टिमलाई ७५ हजार ५ सय ७५ रुपियाँ ,तेस्रो हुने टिमलाई ५५ हजार ५ सय ५५ रुपियाँ र सान्त्वना टिमलाई २५ हजार ५ सय २५ रुपैयाँ नगद पुरस्कारसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने महासचिव घिमिरेले बताए । प्रतियोगिता पोखरा रङ्गशालामा असोज २७ देखि कार्तिक २ गतेसम्म सञ्चालन हुनेछ ।