त्रिवि बेथिति, स्थायि प्रध्यापक निजीमा पढाउँदै , २५ जनालाई नसियत

३ श्रावण २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
66 Shares


काठमाडौं – सरकारी क्याम्पसमा स्थायि नियुक्ती लिएका अधिकांश प्रध्यापकले स्वीकृति नै नलिई विभिन्न निजी शिक्षण संस्थामा अध्यापन गराउँदै आएको पाइएको छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, उपप्रध्यापक, सहप्रध्यापक र शिक्षण सहायकले निजीमा पढाउने गरेको पाइएको हो । त्रिविका अनुसार पछिल्लो दुई वर्षको अवधिमा २५ जना कर्मचारीलाई सेवाबाट हटाइएको छ । ९० दिनभन्दा बढी समय अनुपस्थित भएको भन्दै विशेष सजायअन्तर्गत उनीहरूलाई सेवाबाट हटाइएको हो ।

यसरी हटाइएकामा निजी शिक्षण संस्थामा अध्यापन गराउनेहरू पनि रहेको त्रिवि डिन कार्यालयले जनाएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० मा बिना जानकारी लगातार ९० दिनसम्म क्याम्पस वा कार्यालयमा उपस्थित नभए सेवाबाट हटाउने उल्लेख छ । अनुगमन निर्देशनालयसम्बन्धी विनियम २०७३ मा त्रिविबाहेक अन्य संस्थामा आंशिक रूपमा काम गर्न चाहने शिक्षक तथा कर्मचारीलाई त्रिविको कामकारबाहीमा असर नपर्ने गरी स्वीकृत दिन सक्ने उल्लेख छ । त्रिविको नियमानुसार हालै २० जना कर्मचारीलाई काम गर्न सचेत गराई नसियत दिएको छ । राजधानीसहित देशभर ६१ आंगिक क्याम्पस छन् । ती क्याम्पसमा अध्यापनरत केही प्राध्यापक, उपप्राध्यापक, सहप्राध्यापक र शिक्षण सहायकले निजी शिक्षण संस्थामा समेत पढाउँदै आएका छन् । त्रिवि अनुगमन निर्देशनालयले अध्यापन गराउँदै आएको क्याम्पस र अध्यापन गराउन चाहेको क्याम्पसबीचको सहमतिपत्रका आधारमा स्वीकृति दिँदै आएको छ । त्रिवि स्रोतका अनुसार १ हजार २ सय बढीले अध्यापनका लागि पूर्वस्वीकृति लिएका छन् । त्रिवि योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा.डा रिदीश पोख्रेलका अनुसार केन्द्रीय क्याम्पससहित ६१ आंगिक क्याम्पसमा अहिले ३ लाख ९२ हजार ४ सय विद्यार्थी अध्ययनरत छन् । यस्तै, १६ हजार ६१ जना कर्मचारी कार्यरत छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया