व्यापार घाटा बढ्यो, उच्च आयातले विदेशी मुद्रा सञ्चितिमा चाप

प्रकाशित मिति:

काठमाडौं- गत आर्थिक वर्ष २०७५/७६ को ११ महिना (साउनदेखि जेठसम्म)मा कूल वस्तु निर्यात १८.७ प्रतिशतले वृद्धि भई ८७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १० प्रतिशतले वृद्धि भएको थियो। नेपाल राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारततर्फ ३३.३ प्रतिशत र अन्य मुलुकतर्फ १.५ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा २७.१ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा पोलिष्टर यार्न, जुटका सामान, चाउचाउ, दाल, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, तयारी पोसाक, जुत्ता तथा चप्पल, छाला, पश्मिनालगायतका वस्तुहरुको निर्यात घटेको राष्ट्र बैंकले जनाएको छ।

यही अवधिमा कूल वस्तु आयात १७.३ प्रतिशतले बढेर १२ सय ९९ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २३.६ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १५.१ प्रतिशत, चीनबाट भएको आयात ३०.७ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १६.१ प्रतिशतले बढेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाइजहाज तथा पार्टपुर्जा, तयारी पोसाक, एमएस बिलेट, विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ। सिमेन्ट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, स्वास्थ्य उपकरण तथा औजार, कच्चा भटमासको तेललगायतका वस्तुहरुको आयात भने घटेको छ।

चालू खाता घाटा बढ्यो गत आर्थिक वर्षको ११ महिनामा (असारबाहेक) चालू खाता घाटा बढेको छ। राष्ट्र बैंकका अनुसार यही अवधिमा चालू खाता घाटा विस्तार भई २ खर्ब ४८ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा यस्तो घाटा २ खर्ब १० अर्ब २४ करोड रुपैयाँ रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको ११ महिनामा २ अर्ब ३ करोड रहेको चालू खाता घाटा यस वर्ष २ अर्ब २० करोड पुगेको छ।

राष्ट्र बैंकका अनुसार शोधनान्तर स्थिति ९० अर्ब ८३ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको यही अवधिमा शोधनान्तर स्थिति ४ अर्ब ३४ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको ११ महिनामा ४ करोड ९९ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ८० करोड ३१ लाखले घाटामा रहेको छ। गत आर्थिक वर्षको ११ महिनामा ११ अर्ब ८१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। त्यसअघिको वर्षको यही अवधिमा वैदेशिक लगानी १५ अर्ब ८८ करोड रहेको थियो।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू खाता घाटा विस्तारसँगै विदेशी विनीमय सञ्चितिमा चाप बढेको छ। २०७५ असार मसान्तमा ११ सय २ अर्ब ५९ करोड रहेकोमा २०७६ जेठ मसान्तमा १ हजार ३० अर्ब ८८ करोड रहेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब ८ करोड रहेकोमा २०७६ जेठ मसान्तमा ९ अर्ब २५ करोड रहेको छ। कूल विदेशी विनीमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तमा ९ सय ८९ अर्ब ४० करोड रहेकोमा २०७६ जेठ मसान्तमा ८ सय ८५ अर्ब ८३ करोड रहेको छ। बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा १ सय १३ अर्ब १९ करोड रहेकोमा २०७६ जेठ मसान्तमा बढेर १ सय ४५ अर्ब ५ करोड पुगेको छ। – नेपाललाइभ