चौथो सैनामैना महोत्सवको पुष २४ गते देखि हुने

प्रकाशित मिति:

सैनामैना -रुपन्देहीको सैनामैनामा हरेक बर्ष संचालन हुदै आएको सैनामैना महोत्सव चौथो संस्करणको मिति तय भएको छ । सैनामैना उद्योग वाणिज्य संघले आगामी पुस २४ देखि माघ ६ गतेसम्म सैनामैना कृषि,पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७६ सञ्चालन गर्ने भएको छ ।
उद्योग वाणिज्य संघ सैनामैनाको हालै सम्पन्न १३ औं बोर्ड बैठकले महोत्सवको मिति तय गरेको संघका महासचिव दीपक अधिकारीले जानकारी दिनुभयो । संघका अध्यक्ष राजबहादुर क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले यस बर्षको महोत्सवलाई बिशेष महोत्सवको रुपमा संचालन गर्ने निर्णय गरेको छ । सैनामैनाको समृद्धिका लागि निजी क्षेत्रको भूमिकालाई अझै अपरिहार्य र महत्वपुर्ण बनाउने एउटा माध्यमका रुपमा महोत्सव पनि रहेको संघले  ठहर गरेकोछ ।

महोत्सवले सैनामैनाको ऐतिहासिक पक्षलाई उजागार गर्ने, नयाँ पर्यटकीय गन्तव्यको विकास र प्रबर्द्धन गर्दै लगानी आकर्षण गर्न सहयोग पुग्ने संघका अध्यक्ष राज बहादुर क्षेत्रीले बताउनुभएको छ। सबै क्षेत्रको सहकार्यबाट यहाँका सम्भावनालाई साकर पार्दै औधोगिक वातावरण बनाउनेतर्फ महोत्सवलाई लक्षित गरिने अध्यक्ष क्षेत्रीको भनाइ रहेको छ । गत बर्ष सैनामैना ब्यापार संघले  सञ्चालन गरेकोे महोत्सवको थप तयारीका लागि छिट्टै बैठक बसेर जिम्मेवारी बाँडफाँड लगायतका कामहरु गरिने संघका उपाध्यक्ष रिमबहादुर श्रेष्ठले बताउनु भएको छ ।