मूर्ति तोडफोडमा संलग्न लाई कानूनी दायरामा ल्याउने बिषयमा गम्भिर हुन आग्रह

प्रकाशित मिति:

बुटवल । प्रदेश सरकारका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीले राजमार्गमा स्थापना गरिएका बुद्ध मूर्ति तोडफोडमा संलग्न अपराधिहरुलाई कानूनी दायरामा ल्याउन र कारवाही गर्न जिल्ला स्थित सुरक्षा निकाय र प्रशासन लाई गम्भिर हुन आग्रह गर्नुभएको छ ।
प्रदेश सरकारको आयोजनामा सुरु भएको लुम्बिनी भ्रमण बर्ष २०७६ का अवसरमा तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रमा पर्ने शिद्धार्थ राजमार्गमा स्थापना गरेका बुद्धका मुर्ति मध्ये ५ वटा मुर्ति अज्ञात समूहले बुधवार राति तोडफोड गरि क्षति पुर्याएपछि मन्त्री गिरीले शुक्रबार मन्त्रालयमा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक हृदय थापा, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरिक्षक बसन्त बोगटी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख नविन अधिकारी लाई घटनालाई गम्भिर रुपमा लिएर अपराधिलाई छिटो कानूनी दायरामा लिन आग्रह गर्नुभयो । मन्त्री गिरीले शान्तिका अग्रदुत गौतम बुद्धका मुर्तिमाथि तोडफोडको घटना बाट शान्तिप्रिय जनताका भावनामा चोट पुग्नाका साथै बुद्ध जन्मस्थलमै यस खालको शान्ति बिरोधि गतिबिधी हुनुले बिश्वभरिनै नकारात्मक सन्देश फैल्याउने प्रयास भएकाले तत्काल कारवाहीको दायरामा ल्याएर सदभाव अझै मजबुत बनाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समूदायमा सकारात्मक सन्देश पुर्याउन आवश्यक रहेको समेत बताउनुभयो । शिद्धार्थ राजमार्गको तिलोत्तमा नगरपालिका अन्तर्गत पर्ने मणिग्राम देखि शंकरनगर सम्मका ५ वटा मुर्ति बुधबार राति अज्ञात समूहले तोडफोड गरि क्षत बिक्षत पारेर छाडेको थियो ।