संचारमन्त्री बास्कोटा ‘अभिनन्दित’

प्रकाशित मिति:

काभ्रे – संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका गोकुल बास्कोटालाई जिल्लामा रहेको नागरिक संगठन काभ्रे उद्योग बाणिज्य संघले अभिनन्दन गरेको छ । शनिबार बनेपामा आयोजित उद्योग बाणिज्य संघको ४० औ बार्षिक साधारण सभाको अवसरमा उक्त अभिनन्दन गरिएको हो । संघका अध्यक्ष प्रकाश मानन्धर, पुर्व अध्यक्ष एवं केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, पुर्व अध्यक्ष दियेशरत्न शाक्य, लक्ष्मीलाल राजभण्डारी लगायतले मन्त्री बास्कोटालाई अभिनन्दन पत्रद्वारा सम्मान गरेका थिए । ‘मन्त्री बास्कोटाले जिल्ला र राष्ट्रको समुन्नत विकासका लागि महत्वपूर्ण योगदान पुर्याउन र नागरिकहरुको समृद्धका लागि भूमिका खेल्नु भएको छ’–अध्यक्ष प्रकाश मानन्धरले भन्नुभयो–‘लगानी सम्मेलनमा जिल्लाका महत्वपूर्ण योजनाहरु समावेश गर्न विशेष पहल गर्नु भएकोमा जिल्लाबासी खुशी छौं ।’

सोहि अवसरमा मन्त्री बास्कोटाले सरकार एक्लै हिड्न नखोजेको र नसक्ने भएकाले नीजि क्षेत्र तथा सबै क्षेत्रका ब्यक्तिहरुसँगको सहकार्य र साझेदारीतामा अगाडी बढ्ने बताउनु भयो । सुनकोशी हाईड्रो, पाँचखाल सेज, मेडिसिटी, फोहोरमैला ब्यवस्थापन, पाँचखाल खानेपानी लगायतको क्षेत्रमा मन्त्री बास्कोटाले बजेट मार्फत सम्बोधन गरेका छन् । राष्ट्रिय स्वाधिनता र समृद्धीक सबैको साझा मुद्दा भएकाले सरकारले ब्यवसायीसँग सल्लाह गरेर मात्रै थप योजना अगाडी सार्ने मन्त्री बास्कोटाले बताउनु भयो । साधारण सभामा उद्योग बाणिज्य संघका जिल्ला नगर अध्यक्ष किशोर प्रधानले सरकारले एकलौटी नयाँ ब्यवस्था शुरु गरेकोमा आपत्ति जनाउँदै ब्यवसायीसँग परामर्श गरेर मात्रै अगाडी बढ्न सुझाव दिनु भयो । उपाध्यक्ष चन्द्र ढकालले सरकारले विधेयक ल्याउँदा बृहत्त छलफल गरेर मात्रै ल्याउन सुझाव दिए । सभामा संघको भवन निर्माणका लागि महिला उद्यमी मञ्चले ५० हजारको चेक हस्तान्तरण गरेको थियो भने अध्यक्ष प्रकाश मानन्धरले १ लाख, सल्लाहकार दिलीप श्रेष्ठले १ लाख, बरिष्ठ उपाध्यक्ष प्रताप बैद्य, उपाध्यक्ष राजेन्द्र पसंक्षे र कोषाध्यक्ष ग्रुबेन तौजलेले १ लाख रुपैया सहयोग गर्ने घोषणा गरेका थिए । केन्द्रिय उपाध्यक्ष चन्द्र ढकालले १ लाख ५१ हजार, उपाध्यक्ष किशोर प्रधानले १ लाख र केन्द्रिय सदस्य सुरकृष्ण बैद्यले १ लाख रुपैया उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

सभामा सांसद लक्ष्मण लम्साल, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य डिवी बस्नेत, जिल्ला उपाध्यक्ष प्रताप बैद्य, महासचिव कैलाश पलाञ्चोके, कोषाध्यक्ष ग्रुवेन तौजले लगायतले जिल्लाको समग्र विकासका लागि काभ्रे उद्योग बाणिज्य संघले विभिन्न कृयाकलाप मार्फत उद्यमी तयार गरी उद्यमशिलता बढाएको बताउनु भयो । अध्यक्ष प्रकाश मानन्धरले स्थानीय सरकारहरुसँगको साझेदारीतामा समृद्ध काभ्रे बनाउन उद्योग बाणिज्इ संघ लागिरहने अध्यक्ष मानन्धरले बताउनु भयो । – न्युजअफनेपाल