आज भारी वर्षाको सम्भावना, यस्तो छ सोमबारसम्मको मौसमी पूर्वानुमान

प्रकाशित मिति:

बुटवल – बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले आज देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज एक विशेष बुलेटिन जारी गर्दै मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर अवस्थित भए पनि बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको प्रभावले देशको केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उक्त प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ। आइतबार देशभर सामान्य बदली रही देशको पूर्वी र मध्य क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै सोमबार देशभर आंशिकदेखि सामान्य बदली हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बाढी पूर्वानुमान महाशाखाले प्रदेश नं १, ३, ५ र गण्डकी प्रदेशका मध्यपहाडी तथा चुरेको भू–भागबाट बहने केही साना नदीमा आकस्मिक बहावको सम्भावना रहेकाले तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ। त्यसैगरी मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घन्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा पहिरो जान सक्ने र पहाड तथा चुरेबाट बहने खोलामा जल सहत बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । – रासस