मन्त्री पण्डित र लोकसेवा प्रमुख मैनालीको पुतला जलाइयो, १५ जना बन्दकर्ता पक्राउ

प्रकाशित मिति:

ईटहरी – लोकसेवा आयोगले निकालेको विज्ञापनको विषयमा असहमति जनाउँदै इटहरीमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका प्रमुख उमेश मैनालीको पुतला जलाइएको छ। आदिवासी जनजाति महासंघ प्रदेश नम्बर १ समितिले संवैधानिक आरक्षणको व्यवस्था नगरेको भन्दै मन्त्री पण्डित र आयोगका अध्यक्ष मैनालीको पुतला दहन गरेको हो।

आरक्षण बचाऔं नाम दिएर आन्दोलन थालेको आदिवासी जनजाति महासंघको प्रदेश १ समितिले प्रहरीलाई झुक्याउँदै पुतला दहन गरेको थियो। पछि प्रहरीले पुतला खोसेर निभाएको थियो। साउन ३ मा पत्रकार सम्मेलन गरेर प्रदेश १ बन्दको आह्वान गरेको समितिले आज गते इटहरीमा जुलुस निकालेको हो। जुलुसमा सहभागी १५ जनालाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक समिरचन्द्र खरेलका अनुसार बन्द गराउँदै हिँड्नेलाई नियन्त्रणमा लिइएको हो।