कम्युनिष्ट सरकारका कारण राष्ट्रियता कमजोर : डा. शेखर कोइराला

प्रकाशित मिति:

चन्द्र भण्डारी भन्छन – कांग्रेस पार्टी भित्रको झगडाले कमजोर बन्दा कम्युनिष्टहरुले फाइदा उठाए
पोखरा– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिष्ट सरकारको अपरिपक्वता र दम्भले राष्ट्रियता धरापमा परेको बताएका छन् । वर्तमान सरकारका कारण राष्ट्रियता इतिहासकै कमजोर बनेको बताउँदै उनले देशको अस्मिता र राष्ट्रियतामाथि खेलबाड नगर्न सरकारलाई चेतावनी दिए ।

सरकारका हरेक गतिविधिले अन्तर्राष्ट्रिय तहमा देशको छवि धमिलिँदै गएको भन्दै डा. कोइरालाले प्रश्न गरे, ‘भेनेजुएलाका राष्ट्रपतिका छोरा र मन्त्रीहरुलाई बोलाएर कम्युनिष्ट नेताहरुले के गर्न खाजेको ? यसले नेपालको छवि कहाँ पुग्छ ? अन्तर्राष्ट्रियस्तरमा के सन्देश जान्छ ?’ नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको प्रथम जिल्ला परिषदलाई सम्बोधन गर्दै कांग्रेसका नेता डा. कोइरालाले सरकारका अराजकताविरुद्ध सडक र सदनमा आगो बाल्नुपर्ने समयमा कांग्रेस आन्तरिक समस्या र द्वन्द्वमा अल्झिरहनु दुखद भएको बताए ।

कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले कांग्रेस पार्टी भित्रको झगडाले कमजोर बन्दा कम्युनिष्टहरुले फाइदा उठाएको बताए । उनले वृद्ध नेताहरुले अब विश्राम लिनु पर्ने बताउँदै त्यसो नभए आगामी महाधिवेशनबाट विस्थापित गरिदिने चेतावनी दिए । भण्डारीले आफ्ना कार्यकर्ताहरुलाई जग्गा बाँड्न कम्युनिष्ट सरकारले गुठी विधेयक ल्याएको पनि आरोप लगाए ।