सवारी दुर्घटना बढे : एकै जिल्लामा बर्षमा ६० को मृत्यु

प्रकाशित मिति:

नेपालगञ्ज – बाँके जिल्लामा विगतको तुलनामा सवारी दुर्घटनामा बृद्धि भएको छ । जिल्लामा दुर्घटनाको दर बढेसगैं ज्यान गुमाउनेको संख्यामा पनि बढेको छ । जिल्ला ट्राफिक कार्यालय बांकेका जानकारी अनुसार गत बर्ष जिल्लामा भएका साना ठूला दुर्घटनामा परि ६० जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा परि ४२ जना पुरुष, १४ जना महिला, ४ जना बालक गरि जम्मा ६० जनाले ज्यान गुमाएका हुन् । दुर्घटनामा ज्यान गुमाउनेको संख्यासगैं घाईते हुनेहरुको संख्या पनि बढेको पाइएको छ ।

जिल्लामा वर्षभरी भएका दुर्घटनामध्ये ९९ वटा ठूला दुर्घटनामा परि ४५ जना पुरुष, २३ जना महिला, ७ जना बालक र १ जना बालिका गरि ७५ जना गम्भीर घाईते भएका छन् । यस्तै ५४ जना पुरुष, २९ जना महिला र ३ बालिका गरि ८६ जना सामान्य घाइते भएको ट्राफिक प्रतिवेदनमा उल्लेख छ । दुर्घटनामा परी २ वटा पशुचौपायाको मृत्यु हुनुका साथै १ वटा घाईते भएको समेत जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
जिल्ला ट्राफिक कार्यालय बाँकेका अनुसार बाँकेमा प्रत्येक हप्ता सरदर २ वटा सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् । यसरी हप्तामा हुने दुर्घटनाबाट प्रत्येक हप्ता कम्तिमा १ जनाको मृत्यु अनि ३ जना गम्भीर घाइते हुने गरेको पाइएको छ । यी सवै दुर्घटनाका प्रमुख कारण भने चालकको लापरवाही र तीब्र गतीलाई नै औंल्याइएको छ ।

जिल्लामा भएका ९९ ठूला दुर्घटनामध्ये तीब्र गतिका कारण ३९ वटा, चालकको लापरवाहीका कारण ३९ वटा, ओभरटेक गर्दा ७ वटा, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउँदा ५ वटा, खराब सडकका कारण ४ वटा, छाडा चौपायाका कारण ३ वटा र यान्त्रिक कारणले २ वटा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । बाँके जिल्लामा भएका सवारी दुर्घटना मध्ये सवैभन्दा बढी दुर्घटना बेलुकी ६ बजेदेखि राती १२ बजेको अवधिमा भएको पाईएको छ । यस्तै दिउँसो १२ बजेदेखि बेलुकी ६ बजेको अवधिमा पनि दुर्घटना हुने गरेको पाईएको ट्राफिक प्रहरीले जनाएको छ ।
वर्षभरी भएका सवारी दुर्घटनालाई हेर्दा आईतबार २० वटा सवारी दुर्घटना भएका छन् । यस्तै सोमबार १९ वटा, मङ्गलबार ४ वटा, बुधवार ११ वटा, बिहीबार ८, शुक्रवार १८ वटा र शनिवार १९ वटा सवारी दुर्घटना भएका छन् । – गोरखापत्र