तिलोत्तमामा वृक्षारोपण सप्ताह

प्रकाशित मिति:

तिलोत्तमा,  । रुपन्देहीको तिलोत्तमा नगरपालिले ५० हजार विरुवा रोप्ने लक्ष्यका साथ वृक्षारोपण सप्ताह सञ्चालन गरेको छ । ‘ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा’ नाराका साथ नगरपालिकाले साउन १ गतेबाट हरियाली प्रवद्र्धन गर्न वृक्षरोपण सप्ताह चलाएको हो । नगरपालिकाले गत वर्ष पनि वृक्षारोपण सप्ताह चलाएको थियो । सप्ताहअन्तर्गत् नगरमा विभिन्न प्रजातिका फलफुल तथा वनस्पतिका विरुवाहरु रोपिने नगरप्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो । विभिन्न संघ—संस्था, क्लव, टोल विकास संस्थालगायत समग्र नगरबासीसँगको सहकार्यमा वृक्षरोपण हुने नगरपालिकाले जनाएको छ । वन कार्यालय तथा सामुदायिक वनमार्फत् प्राप्त वनस्पति र नगरपालिकाले खरिद गरेका फलफूलका विरुवा रोपिने नगर प्रमुख घिमिरेले बताउनुभयो ।

नगर प्रमुख घिमिरेले नगरपालिकाले उपलब्ध गराएका विरुवाहरु रोपी त्यसबाट लाभ लिन तथा हरियाली प्रवद्र्धन कार्यक्रममा सहभागी हुन सबै नगरबासीलाई आग्रह गर्नुभयो । नगरपालिकाले वनस्पतिका विरुवा निःशुल्क र फलफूलका विरुवालाई न्यूनतम मूल्यमा टोल विकास संस्थामार्फत् नगरबासीलाई उपलब्ध गराइने जनाएको छ ।नगर उप—प्रमुख जागेश्वरी चौधरीले वडा कार्यालय र टोल विकास संस्थामा सम्पर्क राखि आ–आफ्नो घर–आँगन, खाली जमिन तथा उपयुक्त स्थानमा विभिन्न प्रजातिका फलफुल तथा वनस्पतिका विरुवाहरु रोप्न नगरबासीलाई आह्वान गर्नुभयो ।

सप्ताह अन्र्तगत् आँप, अम्बा, अनार, कागती, लिची, कटहर, अमला, जामुन, सुपारी, टिक, बकाईनो, खयर, बेगनबेली फूललगायत विभिन्न प्रजातिका विरुवाहरु रोपिनेछ । सप्ताहको साउन १ गते प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले शुभारम्भ गर्नुभएको थियो ।यसैबीच शनिबार वडा नं. १ को ड्राईभरटोल सिक्सलेन सडक डिभाइडरमा बेगनबेली फूल रोपिएको छ । कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरे, वडा नं. १ का वडाध्यक्ष तामानाथ पाण्डेय, ३ का वडाध्यक्ष टंक तिवारीलगायतको सहभागिता रहेको पथियो । कार्यक्रममा टोल विकास संस्था, आमा समूहलगायत स्थानीयको सहभागिता रहेको थियो ।