कालीगण्डकी करिडोर भदौ १५ सम्मका लागि बन्द

प्रकाशित मिति:

गुल्मी – वर्षायामको समयमा मानवीय क्षति नहोस् भनेर कालीगण्डकी करिडोरको हर्मिचौरदेखि अर्बेनीसम्मको सडकखण्ड भदौ १५ गते सम्मका लागि बन्द गरिएको छ । नेपाली सेनाले बम विष्फोट गरी सडक निर्माण गरिरहेको समयमा वर्षायामको समयसँगै विष्फोट गराएको सडकमा
जोखिम हुने भन्दै सडक बन्द गरिएको कालीगण्डकी करीडोर निर्माण कार्यदलका प्रमुख कर्नेल रेश्मिराज भट्राईले जानकारी दिनुभयो ।

सो सडकमा जोखिम मोलेर यात्रा गर्दा र सवारी साधनहरु आवतजावत गर्दा मानवीय क्षति समेत हुन सक्ने भएकाले भदौ १५ गते सम्मका लागि सडक बन्द गरिएको हो । सोही समय अवधिमा नेपाली सेनाले हर्मिचौर देउराली सडक खण्डको पहरामा विष्फोट गरी पहरा फुटाउने कार्य जारी राखिने जानकारी दिएको छ । सो समयमा पैदल यात्रा गर्नेहरुका लागि पनि नेपाली सेनाको निगरानीमा यात्रा गर्ने र सुरक्षा दिने नेपाली सेना हर्मिचौरले जनाएको छ । हर्मिचौरदेखि अर्बेनीसम्मको सात किलोमिटर सडकखण्डमा बीचबीचमा पहिरो झर्ने कार्य जारी रहेकाले पनि सडक बन्द गर्नुपरेको प्रमुख भट्राईले जानकारी दिनुभयो ।