बाढीपहिरो पीडितको राहतका लागि नेविसंघ–देउवा छलफल

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षीय विद्यार्थी नेताहरुले बाढीपहिरो पीडितहरुका लागि राहत वितरण र स्वास्थ्य शिविर सञ्चालनका लागि सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । विघटित नेपाल विदार्थी संघका निवर्तमान उपाध्यक्ष पुष्पकुमार शाही, महामन्त्री सरोजकुमार थापा, पूर्व उपाध्यक्ष ऋषिकेशजंग शाहलगायतका विद्यार्थी नेताहरुले आइतबार बिहान सभापति देउवासँग राहत वितरण र स्वास्थ्य शिविर सञ्चालनका लागि छलफल गरेका हुन् ।
छलफलमा बाढीपहिरो पीडितका लागि राहत वितरणका लागि संकलन गरिने राहतका बारेमा सभापति देउवालाई जानकारी दिएको निवर्तमान महामन्त्री थापाले बताए । उनले बाढीपहिरो पीडितहरुका लागि भन्दै राहत संकलन गरिरहेका नेविसंघका अन्य विद्यार्थीहरुको समूहसँग समन्वयका लागि पार्टीले प्रतिनिधि खटाइदिन पनि आग्रह गरिएको जानकारी दिए । “नेविसंघका अरु साथीहरु पनि राहत संकलन गरिरहनुभएको छ । हामी पनि संकलन गर्न गइरहेका छौं,” थापाले बाह्रखरीसँग भने, “सबै साथीहरु एक ठाउँमा आएर संयुक्त रुपमा राहत वितरण र स्वास्थ्य शिविर सञ्चालनका लागि पार्टीले प्रतिनिधिका रुपमा कुनै एक जना नेता खटाइदिन आग्रह गरेका छौं ।”
यसअघि उनीहरुले नेविसंघका निवर्तमान र पूर्व पदाधिकारीहरुसँग राहत संलनका विषयमा छलफल गरेका थिए । उक्त छलफलमा निवर्तमान उपाध्यक्ष शाही र नवीन राई, महामन्त्रीद्वय थापा र आनन्दराज त्रिपाठी, पूर्वउपाध्यक्ष शाह ,विद्यार्थी नेता दुजाङ सेर्पा लगायत उपस्थित थिए । उनीहरुले साउन ७ गते उपत्यकाका विभिन्न क्याम्पसका इकाई समितिसँग फेरि छलफल गरेर राहत संकलन कार्यलाई अगाडि बढाउने तयारी गरेका छन् । निवर्तमान महामन्त्री कुन्दनराज काप्mलेको समूहले भने यसअघि नै एक्लै बाढीपहिरो पीडितका लागि राहत संकलनको काम सुरु गरेको थियो ।