बहस : व्यावसायिक पत्रकारिताका लागि औपचारिक पत्रकारिता शिक्षा

६ श्रावण २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
22 Shares


व्यावसायिक पत्रकारिताको लागि अनिवार्य पत्रकारिता अध्ययन जरुरी रहेकोमा सेफर्ड कलेज काठमाण्डौले आयोजना गरेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएकाछन् । पत्रकारिता शिक्षाको अवस्थाका बिषयमा भएको उक्त गोष्ठीमा सहभागीहरुले राखेका विचार :

डा.सुरेशराज आर्चाय
पूर्व अध्यक्ष
नेपाल पत्रकार महासंघ

नेपालमा मिडिया पढ्नुपर्ने बिषय हो कि हैन भन्ने कुराको वहस अहिले पनि चलिरहेको छ । एकातिर आम नागरिकले पत्रकारिता गर्ने व्याक्तिले सबै कुरा जानेको छ भन्ने बुझाई छ भने अर्को तिर अरु केही गर्न नसके पछि मात्र पत्रकार बन्ने परिपाटी छ । अहिले पत्रकारितामा संलग्न व्याक्तिहरु प्रयाप्त तालिम लिएका छन् तर पत्रकारिताको औपचारिक अध्ययनको अवस्था त्यति राम्रो छैन तर पनि अब पत्रकारिता अध्ययन आवश्यकता हो भन्ने कुरामा धेरै सहमत छन् । पत्रकारिता पढेर हैन परेर गर्ने कुरा हो भन्ने बुझाई भएको कारण यसको महत्व कम देखिएको तर बिस्तारै सबै क्षेत्रमा यसको आवश्यकता महसुस हुन लागेको छ । पत्रकारिता अध्ययन गरेका व्याक्तिहरु अहिले पनि विभिन्न गैरसरकारी तथा नीजि संस्थाहरुमा आफ्नो क्यारियर बनाउन सफल भएका छन् तर कतिपय सरकारी जागिरमा पत्रकारिता पृष्ठभूमीका कर्मचारीको आवश्यकता देखिने गरे पनि लोकसेवाका विज्ञापनहरुमा प्राथमिकता नदिएको पाइन्छ तसर्थ त्यस तर्फ सम्बन्धित पक्षको ध्यान पुराउन जरुरी छ । अर्को तिर अहिले सबै तिर सूचनाको अधिकारको वहस पनि त्यसको प्रवद्र्धनका लागि पत्रकारिता अध्ययन गरेको जनशक्तिको आवश्यकता छ कि छैन ? अहिले पत्रकारिता अध्ययन गरेकाहरुको संख्या धेरै छ त भनिन्छ तर कति छन् र के गर्दै छन् भन्ने कुराको अध्ययन नै भएको छैन ।

धर्मेन्द्र झा
पूर्व अध्यक्ष
नेपाल पत्रकार महासंघ
पत्रकारिता पढेर पत्रकारिता मात्रै गर्नुपर्ने बुझाई नै गलत छ । आम संचार अध्ययनले अन्य क्षेत्रहरुमा समेत सहयोग पुग्छ भन्ने कुरा बुझ्न जरुरी छ । पत्रकारिता पढाउँदा पत्रकारिता कसरी गर्ने र पत्रकारिताका सिद्धान्त त सिकाइरहेका छौं तर समय अनुसार पाठ्यक्रममा ध्यान पुराउन सकेको देखिन्न । अर्को कुरा पत्रकारिता गरिरहेका बिद्यार्थीहरुलाई खोजअनुसंन्धानका कार्यहरुमा संलग्न गराउनुपर्ने देखिन्छ, जसले प्रयोगात्मक कुराका निखारताको लागि पनि सहयोग गर्छ । पत्रकारिता अध्ययन गराउने संस्थाहरुले आफ्ना उत्पादनहरुको बारेमा पनि चासो राख्नुपर्ने जस्तो देखिन्छ । पत्रकारिता अध्ययन गर्न चाहनेको संख्या उपत्यका बाहिर पनि छ, कलेजको पहुँचमा हुन नसकेकै कारण उनीहरु पढ्न पाइरहेका छैनन् , बाहिर जिल्लामा पनि यसको अवसरको बिस्तार किन नगर्ने ? किन काठमाण्डौमा मात्र केन्द्रित हुने ?

जगत नेपाल
पत्रकार
पत्रकारिताको अध्ययन गर्नेहरु पत्रकारितालाई व्यावसाय बनाएका र नबनाएकाहरुको विचको फरकको कारणले पनि व्यवस्थित हुन नसकेको र पत्रकारितामा अवसर त प्रयाप्त छ तर पत्रकारको सामाजिक सुरक्षाको अवस्था पनि कमजोर भएको कारण पत्रकारिता शिक्षा र शिक्षा पश्चात व्यावसायिक पत्रकारितामा आर्कषण कम भएको छ । पत्रकारिता अध्ययन गरेकाहरुमा सबै कुराको विज्ञता हुन्छ भन्ने मान्यता बोक्नु भन्दा पनि मिडिया हाउसले उनीहरुले पनि सिक्ने वातावरण पाउनुपर्छ भन्ने कुरा बुझ्नु जरुरी छ । जसरी एउटा एमबिबिएस गरेको डक्टरले पनि एक बर्ष इन्टर्न सीप गर्छ त त्यस्तै पत्रकारिता भनेको कला र बिज्ञान पनि हो जसमा निखारिन निरन्तर अभ्यासको वातावरण चाहिन्छ । त्यो कुरा कलेजको हकमा पनि लागु हुन्छ अहिले बिद्यार्थीहरुलाई ल्यावमा प्रयाप्त अभ्यास गराइएको छैन भने रेभिन्युका नाममा अनावश्यक बिद्यार्थी भर्णा गर्ने काम भएको छ । हामीले रिसर्च गर्यौ भने पत्रकारिता नपढेका मान्छेहरुका कारण वदनाम भएको छ । अहिले जसले पनि आफुलाई पत्रकार भन्दै प्रेस भनेर टाँस्दै हिँडेको पाइन्छ । पत्रकारिता अध्ययन महंगो भएर पनि समस्या भएको छ तर बजार सस्तो छ जसको कारण पनि मिडियामा आर्कषण घटेको छ । पत्रकारिता अध्ययनमा मास्टर्स गरेको छु भनेर सुतेर बसेर त संभव छैन तर साँच्चिकै पत्रकारिता गर्ने हो भने भविश्यक सुरक्षित छ ।

 

विजय पौडेल,
पत्रकार

पत्रकारिता अध्ययन गरिसके पछि भरवार अवसर छ तर मैले पत्रकारिता कसरी गरिरहेको छु भन्ने कुरा महत्वपुर्ण हो । मैले पत्रकारिताको नियम र मान्यतालार्ई कतिको बुझेर पत्रकारिता गरिरहेको छु भनेर पहिलो प्रश्न आफुले आफैलाई गर्नुपर्यो , दोस्रो मिडिया चलाउनेहरु पनि म कसरी मिडिया चलाइराछु भने जसले मिडियाको नियम र मान्यतालाई कत्तिको बुझेको छु भन्ने कुरा महत्वपुर्ण रहन्छ , तेस्रो मिडिया अध्ययन गराउने संस्थाहरुले कसरी अध्ययन गराइरहेकाछन् भन्नेमा हुन्छ । अहिले यि सबैमा अगाडिको जेनेरेसनले जे गर्दै आयो त्यही नै मान्यताको रुपमा विकास भएर आएको अवस्था छ , यसमा सुधार पहिले बाटै गर्नुपथ्र्यो त्यो हुन सकेन । शुरु शुरुमा मिडियामा ग्लायमर देखेर आकर्षित हुने देखियो , एक समय त यस्तो सम्म भयो कि प्लस टु मा पत्रकारिता विषय नराखे बिद्यार्थी भर्णा नै नहुने स्थिति आयो , पत्रकारिता पढेपछि मिडियामा जान पाइन्छ भन्ने ग्लायामरले काम गर्यो । तर त्यो धेरै टिकेन उसले जव सेक्युरिटी, पैसा केही पनि छैन रहेछ भनेर अर्कै तिर मोडियो , अर्को तिर पत्रकारितालाई सरकारले हेर्ने नीति नै कमजोर भएका कारण यस प्रतिको आर्कषण घट्यो । राज्यको नीतिमा सुधार गरेर, पढाउनेले सम्पुर्ण ज्ञान दिएर निकाल्नुपर्यो र पत्रकारिता गर्नेले पनि पत्रकारिताको नैतिकता भित्र रहेर पत्रकारिता गर्नुपर्यो ।

अविरल थापा ,
पत्रकार

सामान्यतया पत्रकारिता अध्ययन गरिरहेका बिद्यार्थी आफै लामो समय देखी पत्रकारितामै संलग्न भएका हुने र उनीहरु नियमित क्लासमा उपस्थित भएर पढ्ने प्रवृति कम छ । जसले पत्रकारिताको औपचारिक अध्ययनबाट प्राप्त हुने कुराबाट वञ्चित भएको अवस्था छ । त्यस्तै पत्रकारिता अध्ययन पश्चात मिडिया हाउसको प्रशासनिक र व्यावस्थापनको क्षेत्रमा पनि राम्रो संभावना छ भन्ने कुरा बुझ्नु जरुरी छ । अहिले पनि मिडिया हाउसहरुबाट कलेजमा जनशक्ति माग गरेको पाइन्छ तर त्यसमा पठाउन सक्ने अवस्था छैन, किनकी कोही मिडियामा संलग्न भइरहेको अवस्था छ त कोहीमा त्यो खालको संभावना र विज्ञता छैन । अर्को तिर सरकारी निकायहरुमा आवश्यक पर्ने सूचना अधिकारी लगायतका पदहरुमा पत्रकारिता अध्ययन गरेका बिद्यार्थीहरुलाई अवसर दिने गरि व्यवस्था गर्न दवाव सृजना गर्न जरुरी छ ।

भिम गौतम,
पत्रकार

लोकसेवा आयोगले लिने सूचना आधिकारीहरु लगायतका पदमाहरुमा पत्रकारिता पृष्ठभूमीका आवेदकहरुको आवदेन दिने अभियानमा अगाडि देखी नै लागिरहेको छु । यो कुरामा सबै सामान्य प्रशासन मन्त्रालय, संचार मन्त्रालय, लोकसेवा आयोग लगायतका सबै निकाय सहमत छन् तर समस्या त्यसलाई कसैले संस्थागत गराउने कुरामा पहल हुन सकेन । यो अभियानलाई थप बलियो गरेर अगाडि बढाउनुपर्छ र सके सम्म यस अभियानलाई कलेजहरुले लिएर अगाडि बढ्दा प्रभावकारी होला जस्तो लाग्छ । अर्को कुरा जतिसुकै ठुला मिडिया भनिएकाहरु पनि संस्थागत रुपमा अगाडि बढ्न सकेका छैनन् । पत्रकारिता पढेर पत्रकारिता गर्ने व्याक्तिहरु कम्तिमा नैतिकताको ख्याल गरेको हुन्छ, नैतिकतामा बसेर काम गर्छ । पहिला पत्रकारिता अध्ययन गरेका जनशक्ति मिडियामा कम थिए तर अहिले कम्तिमा ४० प्रतिशतको संख्यामा छन् , यो संख्या बिस्तारै बढ्दै जान्छ तर अब यसलाई पढ्ने पास गर्ने मात्र भन्दा पनि कसरी प्रभावकारी बनाउने, आर्कषक बनाउने भन्ने कुरामा गम्भिर हुनुपर्छ ।

जुनारबाबु बस्नेत,
पत्रकार

पत्रकारिताको अध्ययन गरेका र राम्रोे रिजल्ट ल्याएका बिद्यार्थीहरुलाई नेपालका राम्रो भनिएका मिडियामा काम गर्ने अवसर दिँदा उनीहरु केही समय पछि छाडेको उदाहरण छ , उनीहरु के भन्छन् भने ‘ पत्रकारिता भनेको नयाँ खालको दास प्रवृत्ति रहेछ ।’ यसरी पत्रकारिताबाट बाहिरिएका उनीहरु मिडियाले दिएको भन्दा तेब्बर सुविधा पाएर अन्यत्र कतै जोडिए । यसले के देखाउँछ भने जनशक्तिमा क्वालिटी भए पनि सुविधा कम छ । यसलाई सम्बोधन गर्ने गरि रोजगारीका अवसरहरु सृजना हुनु आवश्यक छ । अर्को कुरा मिडियामा पनि पत्रकारिता अध्ययन गरेका जनशक्ति राख्न कञ्जुसाई गरेको पाइन्छ , यसको कारण भनेको पत्रकारिता अध्ययन गरेर गएकाहरुलाई काममा लगाउन सकिँदैन, उनीहरु नैतिकताका कुरा गर्छन् भनेर अण्ठसन्ठका मानिसहरु लगेर काममा लगाउने चलन कायमै छ , यो कुरालाई सुधार गर्न पत्रकार महासंघको भूमिका रहनुपर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया