बालुवाटार जग्गा प्रकरणमा संलग्न नरहेको गच्छदारको दाबी, भन्छन्- अख्तियारलाई सघाउन हरदम तयार छु

६ श्रावण २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
111 Shares

फाइल तस्बिर

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्। तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको हैसियतमा सो जग्गा प्रकरणमा मुछिएको समाचार आइरहेका बेला गच्छदारले त्यसमा आफ्नो कुनै पनि संलग्नता नरहेको प्रतिक्रिया दिएका हुन्। आइतबार साँझ भारतबाट स्वदेश फर्किएका गच्छदारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ माधवकुमार नेपाल नेतृत्वको सरकारको पालामा आफूले बालुवाटारमा सडक फराकिलो बनाउनका लागि प्रस्ताव लगे पनि भूमिसम्बन्धी कुनै प्रस्ताव नलगेको पटक–पटक दोहोर्‍याए।

उपसभापति गच्छदारले आफू आँखाको उपचारका लागि अमेरिकाबाट सिधै भारत फर्के पनि सो जग्गा प्रकरणको अभियोग छल्ने काम गरेको भन्दै विभिन्न सञ्चारमाध्यमले समाचार प्रशारण/प्रकाशन गरेको उल्लेख गर्दै आपत्ति पनि जनाए। उनले सो प्रकरणबारे सोधपुछ गर्न चाहे आफूले अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई पनि सहयोग गर्ने स्पष्ट पारे। अख्तियार संवैधानिक निकाय भएकाले त्यसले सोधपुछ गरे आफूले सहयोग गर्ने गच्छदारको भनाइ छ। माधव कुमार नेपाल नेतृत्वको सरकारको पालामा गच्छदार उपप्रधान एवम् भौतिक पूर्वाधार मन्त्री थिए। मन्त्रीको हैसियतमा सो जग्गा प्रकरणमा मुछिएको र त्यसबारे सोधपुछ गर्न अख्तियारले तयारी गरेपछि गच्छदार त्यसलाई छल्न अमेरिका र भारत भ्रमणमा गएको टिकाटिप्पणी भएका थिए। त्यसमा सत्यता नरहेको गच्छदारको दाबी छ । – नेपाललाइभ

फेसबुकबाट तपाईको प्रतिक्रिया