बी.पी स्मृति दिवसको अवसरमा बुटवलमा माल्यापर्ण

प्रकाशित मिति:

तिलोत्तमामा बृक्षारोपण सम्पन्न
बुटवल – नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३७ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदै छ ।दिवसका अवसरमा नेपाली कांग्रेस र उसको भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गर्दैछन् । विपी स्मृती दिवसको अवसरमा आज रुपन्देहीमा पनि विविध कार्यक्रमहरु आयोजना गरीएका छन् । बुटवल उपमहानगर समितिले अहिले बिहान बुटवलको बी.पी.चोकमा रहेको स्व बी पी कोईराला को शालिकमा माल्यार्पण गर्ने कार्यक्रम राखेको छ ।
बिहान साढे ७ बजे हुने कार्यक्रममा काग्रेस नेता कायैकर्ता तथा शुभेच्छुकहरुलाई उपस्थित हुन नगर सभापति खेलराज पाण्डेले आग्रह गर्नु भएको छ । यस्तै नेपाली कांग्रेस जिल्ला कार्यसमितिले दिउसो तिलोत्तमाको वडा नम्वर १७ विपि ग्राम सेवा केन्द्रमा बृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । बिहान ११ बजे पश्चात हुने कार्यक्रममा सहभागिताका लागि जिल्ला सचिव रामकृष्ण खाँणले कार्यकर्ताहरुलाई आग्रह गर्नु भएको छ । नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि.सं. १९७१ साल भदौ २४ गते भारतको बनारसमा भएको थियो । उहाँ नेपाली राजनीतिमा बीपी कोइराला र नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाको नामबाट परिचित हुनुहुन्थ्यो ।
जीवनभर प्रजातन्त्रका लागि लड्नुभएका कोइराला शालीन, सुझबुझ र गम्भीर चिन्तन, अदम्य साहसी नेता हुनुहुन्थ्यो । क्यान्सर रोगबाट थला पर्नुभएका कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी कोइराला भारतीय नेताहरूसंगै जेल पर्नुभएको थियो । कोइरालाको नेतृत्वमा जहानियाँ राणाशासन हटाउन २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भएको थियो । बीपी कोइरालाले २००७ सालमा १०४ वर्षे राणाशासनको विरुद्धमा भएको जनक्रान्तिको नेतृत्व गर्नुभएको थियो । नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक मानिने बीपी तत्कालीन नेपालमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल राजनीतिक व्यक्तित्वका रूपमा समेत चिनिनुहुन्थ्यो ।