प्रदेश ५ मा विप्लवका गतिविधि घटे : मुख्यमन्त्री

६ श्रावण २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
18 Shares


सबलपोष्ट ,बुटवल, ६ साउन । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ मा सरकारद्वारा प्रतिबन्धित विप्लव समूहको गतिविधि स्वाट्टै घटेको बताएका छन् । प्रदेश मामिला तथा कानून समितिको सोमबारको वैठकमा मुख्यमन्त्री पोखरेलले विप्लवका गतिविधि विगतको तुलनामा स्वाट्टै घटेको बताएका हुन् । ‘पहिला पहिला बन्द आयोजना हुंदा सेवोटेज (बम विष्फोट) का घटना धेरै हुने गरेपनि पछिल्लो समयमा उनीहरुका गतिविधि स्वाट्टै घटेका छन्–मुख्यमन्त्रीले भने–‘यद्यपि पुरै निस्तेज भए भन्ने हैन । समितिका सदस्य कांग्रेस सांसद भुवनेश्वर चौधरीले प्रदेश ५ का जिल्लाहरुमा विप्लवका गतिविधि फेरि बढ्न थालेको र विगतको जस्तै द्वन्द्व फेरि दोहोरिने हो कि भन्ने जनतामा चिन्ता बढेको बताएका थिए । मुख्यमन्त्री पोखरेलले सांसद चौधरीको प्रश्नको जवाफ दिंदै भन्दै विप्लवका गतिविधि बढेको नभई घटेको बताएका हुन् ।
संगठन संरचना सहित प्रदेशलाई व्यवस्थित बनाउदै लैजाने काम भैरहेको भन्दै मुख्यमन्त्री पोखरेलले त्यसका लागि ओएनएम सर्भेको काम भैरहेको जानकारी दिए । योजना र कानून निर्माणका हिसावले अन्य प्रदेशको तुलनामा प्रदेश नं ५ अग्र स्थानमा रहेको दाबी गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशले ४२ वटा कानून निर्माण गर्नुका साथै बाँकी कानून निर्माणकै क्रममा रहेको समितिलाई जानकारी गराए ।

संघीय सरकारले निजामाति सेवा ऐन नल्याउदा प्रदेश लोक सेवा आयोग गठन गर्न समस्या भएको भन्दै उनले संघले संगठन संरचना सहितको प्रहरी संगठन प्रदेशलाई हस्तान्तरण नगर्दा प्रदेश प्रहरी लगायत साझा सूचिमा रहेका अधिकार सम्बन्धी कानून बनाउन ढिलाई भएको बताए । मुख्यमन्त्री पोखरेलले प्रदेशको सूरक्षा व्यवस्थाका लागि सूरक्षा निकायहरुसँग निरन्तर समन्वय र सहकार्य भैरहेको बताए । समितिले प्रदेश लोक सेवा आयोग गठनको तयारी,प्रदेश निजामति सेवा विधेयकको मस्यौदाको अवस्था,प्रत्यायोजित व्यवस्थापन अन्तर्गत बनेका नियमावली,निर्देशिका र कार्यविधिको विवरण,बुटवल उपमहानगरपालिका वडा नं १ जितगढीस्थित १६ परिवारको घर टहरा भत्काएको विषयमा समितिले सरकारलाई दिएको निर्देशन कार्यान्वयनको अवस्था तथा मानव अधिकार र सुशासनको क्षेत्रमा गत आर्थिक बर्ष २०७५÷०७६ को वजेट कार्यान्वयनको अवस्थाको विषयमा जानकारी लिन मुख्यमन्त्री पोखरेललाई समितिमा बोलाएको थियो ।

वैठकमा सांसदहरु भोजप्रसाद श्रेष्ठ, रमा अर्याल,खड्कबहादुर खत्री,सरस्वती गौतम लगायतले तिलोत्तमा नगरपालिकामा रातको समयमा बुद्ध मुर्ति फुटाइएको,बुटवल १ मा बुटवल उपमहानगरले १६ परिवारलाई वैकल्पिक व्यवस्थाविना वस्तीमा डोजर लगाएर विस्थापित बनाएको, महंगी अनियन्त्रित ढंगले बढेको, सुशासन कायम हुन नसकेको,स्थानीय तहहरुमा हुने विकास निर्माणमा भ्रष्टाचार र अनियमितता रोक्न प्रभावकारी अनुगमन हुन नसकेको, प्रदेश लोक सेवा आयोग गठन,मल अभाव,शान्ति सुरक्षाको प्रत्याभूति हुन नसकेको लगायतका विषयमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए । समितिकी सभापति दामा शर्माले प्रदेश सरकारलाई सांसदले उठाउने विषयप्रति जिम्मेवार र जवाफदेही बनाउन मुख्यमन्त्रीलाई पहिलोपटक समिति वैठकमा बोलाएर छलफल गरेको बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया