बीपी स्मृतिमा मेलमिलापको नीतिको चर्चा, समस्या पुरानै

प्रकाशित मिति:

काठमाडौं – नेपाली काँंग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३७ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी सोमबार मनाइँदैछ । स्मृति दिवसको अवसर पारेर नेपाली काङ्ग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गर्दैछन् । बीपीको १९७१ साल भदौ २४ गते भारतको वनारसमा जन्म भएको थियो भने २०३९ साल साउन ६ गते क्यान्सरबाट निधन भएको थियो ।

जीवनभर प्रजातन्त्रका लागि लडेका बीपी शालीन, सुझबुझ र गम्भीर चिन्तन, अदम्य साहसी नेता थिए । उनी भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी भई भारतीय नेताहरूसँगै जेल परेका थिए नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक मानिने बीपी तत्कालीन नेपालमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल राजनीतिक व्यक्तित्वका रूपमा समेत चिनिन्थे । २०३४ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्किएका बीपीले त्यसपछि भने सम्पूर्ण राजनीतिक दलको नेता बन्ने अवसर पाए ।

मेलमिलापको नीतिको चर्चा गैर काँग्रेसी नेताले पनि गर्छन् । तर काँग्रेसभित्रै गुटको राजनीति भइरहँदा यो हाँस्यास्पदजस्तै लाग्छ । बीपी साहित्यमा पनि धुरन्धर मानिन्छन् । राजनीतिमा शालीन मानिने बीपी साहित्यमा भने अराजक थिए । उनका सुम्निमा, मोदी आइन्, बाबु, आमा र छोरा, नरेन्द्र दाइ, तीन घुम्ती तथा हिटलर जस्ता चर्चित उपन्यासहरू नेपाली साहित्यमा अझै पनि चर्चाकै शिखरमा छन् ।

मेलमिलापको नीति बीपीको मेलमिलापको नीतिको चर्चा सदैव रहिरहन्छ । भारतमा निर्वासित जीवन त्यागेर ज्यानको बाजी लगाएर बीपी नेपाल फर्किएपछि राजनीतिले नयाँ मोड लिएको थियो । उनले फर्कने बेलामा मेलमिलापको नीति लिएर फर्केका थिए । उनले राजादेखि दलहरु अटाउने किसिमको नीति लिएर फर्केपछि मात्र जनमत संग्रह सम्भव भयो । त्यसपछि दलहरु सक्रिय हुन पाए । बीपीको त्यो नीति २०४६ सालको बहुदलदेखि गणतन्त्र ल्याउने बेलासम्ममा उत्तिकै महत्व रहेको छ । बीपीको मेलमिलापको नीति सत्ताधारी र विपक्षी दलहरु समझदारीमा आउने बेलामा निकै चर्चामा आउँछ । नेपालका कम्युनिष्टहरु पनि बीपीलाई सम्झिरहन्छन् ।

काँग्रेसभित्रको हालत – वर्तमान अवस्थामा काँग्रेसले बीपीको नीतिलाई अंगालेको पाइँदैन । गुट उपगुटका कारण पार्टी कमजोर बन्दै गएको अवस्थामा बीपीको नीति सान्दर्भिक भए पनि अहिले काँग्रेसी नेताहरुले यो नीतिलाई भुल्दै गएको गुनासो आउँछ । सत्तारुढ दलले अहिलेसम्मकै कमजोर प्रतिपक्षीको आरोप लगाइरहेकाले यदि आजकै दिनदेखि फेरि काँग्रेसभित्र मेलपिलापको नीति अपनाउने हो भने पुनः पहिलो दल बन्न सक्नेमा काँग्रेसी नेताहरु आशावादी छन् । अहिले १४ औं महाधिवेशनको चर्चाले गर्दा नेतृत्व र इतर पक्षबीच वैचारिक द्धन्द्ध चर्किएको छ । यो समस्या आजको नभई पुरानै हो ।