ॐ साउनमा उपबास बस्नु कत्तिको राम्रो ? उपवासको अर्थ र महत्व जान्नुहोस् !

प्रकाशित मिति:

साउन महिना सुरु भएको छ । साउन महिनालाई हामी पूजा-आराधना, भक्ति-किर्तनको महिना पनि भन्छौं । साउनको सोमबारको विशेष महत्व छ । साउनको हरेक सोमवार पूजाआजा गर्ने, मठमन्दिर धाउने गरिन्छ । साथसाथै उपवास अर्थात व्रत बस्ने गरिन्छ । उपवासको महिना पनि हो यो ।
साउनमा किन उपवास बसिएको होला ? उपवास बस्दा भगवान खुसी हुन्छन् ? यि भिन्न कुरा होलान् । यद्यपी साउनमा उपवास बस्नुको वैज्ञानिक अर्थ पनि छ । हाम्रा पितापूर्खाले साउनको महिनामा उपवास बस्ने चलन चलाए । कतिले यस महिनाको हरेक सोमवार उपवास बस्ने गरेका छन् । धेरैले माछामासु खान छाड्छन् । अर्थात पूर्णतः शाहाकारी भोजन अपनाउँछन् । साउनमा उपवास बस्नुको, पूजापाठ गर्नुको वैज्ञानिक अर्थ खोजौं ।

ओसिलो मौसम र जिवाणु साउन महिना भनेको मध्य वर्षायाम हो । यतिबेला झरी परिरहन्छ । मौसम ओसिलो हुन्छ । त्यही कारण खानेकुरामा जीवाणु फैलने गर्छ । घाम नलाग्ने र मौसम ओसिलो हुने भएकाले सागसब्जीमा पनि जिवाणु फैलन्छ । त्यसैले वर्षायामको खानेकुरा त्यती स्वस्थ्यकर हुँदैन । पानीको मुहानमा भेल पस्ने, किटाणु फैलने गर्छ । त्यसैले वर्षायाममा पानी पनि त्यती शुद्ध हुँदैन ।

झिंगा, लामखुट्टे र साङ्लाको संक्रमण साउन महिनामा गर्मी पनि बढेको हुन्छ । त्यसैले खानेकुरा चाडै सड्ने, गल्ने हुन्छ । पकाएको खानेकुरालाई लामो समय राख्दा त्यो कुहिने संभावना हुन्छ । यसका साथै यतिबेला झिंगा, लामखुट्टे र साङ्ला समेत फैलन्छ, जसले खानेकुरालाई दुषित बनाइदिन्छ । माछामासुमा अझ चाडै जिवाणु फैलन्छ । त्यसैले माछामासु खाँदा स्वास्थ्यलाई हानी पुग्छ ।

कमजोर पाचन यन्त्र वषर्ायाममा हाम्रो पाचन यन्त्र पनि कमजोर हुन्छ भनिन्छ । खाएको खानेकुरा सहजै पचाउन सक्दैन । त्यसैले सुपाच्य खानेकुरा मात्र खानुपर्छ । पाचन यन्त्र कमजोर हुने भएकाले जथाभावी खाना खाँदा स्वास्थ्यमा प्रतिकुल असर पार्छ ।

मुखलाई नियन्त्रण यतिबेला जथाभावी खानेकुरा सेवन गर्दा स्वास्थ्य खराब हुन्छ । एकातिर खानेकुरा नै शुद्ध र ताजा नहुन सक्छ, अर्कोतिर पाचन यन्त्र कमजोर हुन्छ । त्यसैले वर्षायाममा मुखलाई नियन्त्रण गर्नुपर्छ । अर्थात जथाभावी खानेकुरा सेवन गर्नु हुँदैन । हामीलाई जे देख्यो त्यही खान मन लाग्छ । यसअघि खाइरहेका खानेकुराको तलतल लाग्छ । बजारमा उपलब्ध जंकफुडदेखि चाउमिन, समोसा, मःम, पानीपुरी, चटपटे खान मन लाग्छ । जबकी यि खानेकुरा ताजा हुँदैन । अर्कोतिर त्यस्ता खानेकुरा पचाउने क्षमता हुँदैन । त्यसैले वर्षायाममा मुखलाई नियन्त्रण गरिएन भने शरीरलाई रोगको भण्डार बनाइन्छ ।

उपवासको अर्थ साउनमा उपवास बस्नुको फाइदै फाइदा छ । उपवास बस्दा खराब खानेकुराको सेवनबाट बचिन्छ । सडेको, गलेको, बासी, कुहिएको खानेकुरा खाइदैन । पचाउन गाह्रो हुने माछामासु लगायतका परिकार पनि खाइदैन । शुद्ध र ताजा खानेकुरा मात्र खाइन्छ । साथसाथै पाचन यन्त्रलाई विश्राम पनि मिल्छ । पाचन यन्त्रलाई बेलाबखत विश्राम चाहिन्छ । किनभने हामीले खाएका कति खानेकुरा पच्दैन । त्यस्ता खानेकुरा विकार बनेर शरीरमा रहेको हुन्छ । वास्तवमा शरीरमा जम्मा हुने विकार नै रोगको मूल कारण हो । अतः शरीरको यस्ता विकारलाई हटाउनका लागि पनि उपवास बस्नुपर्छ । त्यसबेला खेतीपातीको काम पनि करिब करिब सकिएको हुन्छ । खेती किसानी गर्नेले विश्राम पाइसकेका हुन्छन् । शारीरिक श्रम धेरै गर्नुनपर्ने भएकाले खानेकुरा नियन्त्रण गर्दा फरक पर्दैन ।

उपवासको तौर-तरिका उपवास बस्ने विभिन्न विधी छन् । निराहार उपवास बस्ने चलन पनि छ । साथसाथै ताजा फलफूल खाएर पनि उपवास बस्ने गरिन्छ । कतिपयले पानी समेत नपिइ उपवास बस्छन् । कतिपयले सुपाच्य खानेकुरा खान्छन् । माछामासु, वासी र अन्न सेवन गर्दैनन् । फलफूल एवं जुस पिएर बस्छन् ।

पूजापाठ र उपवासको सम्बन्ध उपवास बस्दा सुरुमा भोक लागेको महसुष हुन सक्छ । कमजोरी महसुष हुनसक्छ । वेचैनी महसुष हुनसक्छ । त्यसैले पूजापाठ गरेर मनलाई शान्त तुल्याउन सकिन्छ । पूजापाठ गर्दा मनमा भक्ति-भाव पैदा हुन्छ । यसले हामीलाई कृतज्ञ र शान्त तुल्याउँछ । मन वेचैन हुँदैन । तनाव हुँदैन । त्यसैले उपवासबाट पूर्णत लाभ लिन सकिन्छ । साउनमा उपवास बस्नु भनेको भगवान खुसी बनाउनु होइन, आफ्नै स्वास्थ्यलाई शुद्ध र निरोगी तुल्याउनु हो । मनलाई प्रशन्न राख्नु हो । आफ्नो शरीर स्वस्थ्य, शुद्ध र मन सकारात्मक भएपछि भगवान यसै खुसी हुन्छन् ।