यातायातका दुई वटा कार्यालयमा मुख्यमन्त्रीको छड्के : २१ कर्मचारी अनुपस्थित

प्रकाशित मिति:

बुटवल – मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले यातायात व्यवस्था कार्यालयका दुई इकाईमा आज गरेको छड्केमा २१ जना कर्मचारी अनुपस्थित भएका छन् । यातायात व्यवस्था कार्यालय सवारी शाखा मणिग्राममा ३२ दरबन्दी रहेकोमा कार्यालय प्रमुख सहित १० कर्मचारी अनुपस्थित भेटिए ।

त्यसैगरी लाइसेन्स शाखा बुटवलमा २९ कर्मचारीको दरबन्दी भएकोमा ११ कर्मचारी अनुपस्थित भएको पाइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिनुभयो । अनुगमनका लागि दुई कार्यालयमा मुख्यमन्त्री कार्यालयले दुई टोली खटाएको थियो । अनुपस्थित भएकाहरु कार्यालयमा उपस्थित हुनुपर्ने समयभन्दा ढिला उपस्थित भएको पाइएको,सबैलाई स्पष्टिकरण सोधिने र स्पष्टिकरण प्राप्त भएपछि अरु प्रक्रिया अघि बढ्ने प्रवक्ता अधिकारीले बताउनुभयो ।