ट्रम्पका हजारौं दाबी गलत साबित

प्रकाशित मिति:

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कश्मिरसम्बन्धी अप्रत्यसित दाबीले यतिखेर सर्वत्र चर्चा पाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मिर मुद्दामा मध्यस्थता गरिदिन ट्रम्पलाई अनुरोध गरेको विषयले भारतको संसद्मा ठूलै हल्लीखल्ली मच्चिएको छ । विपक्षी काङ्ग्रेसले यसै विषयलाई लिएर प्रधानमन्त्री मोदीको चर्को विरोध गरेको छ । तथापि, भारतीय सत्ताले यसको पूरै खण्डन गरिसकेको छ । यो विषयकै कारण भारत–अमेरिकाबीचको सम्बन्धमा थप तनाव आउने अनुमानसमेत गर्न थालिएको छ । कश्मिर मुद्दाबारे ट्रम्पबाट आएको कुरामात्र होइन, उनका अन्य कतिपय विवादास्पद वक्तव्यका कारण संसारभर हलचल मच्चिने गरेको छ । अमेरिकी अखबार ‘वासिङ्टन पोस्ट’ ट्रम्पको बयानबाजीमाथि ‘फ्याक्ट चेक’ नै गरेको छ । जुन १० मा प्रकाशित उक्त खोजले ट्रम्पले ८६९ दिनमा १०,७९६ झुटो या भ्रामक दाबी गरेको तथ्य सार्वजनिक गरिदिएको छ ।

वासिङ्टन पोस्टको फ्याक्ट चेक टोलीले राष्ट्रपति ट्रम्पले दिएको हरेक सन्दिग्ध टिप्पणीको विश्लेषण गरेको थियो । अखबारको दाबी छ– ट्रम्पले सत्ता सम्हालेपछि हरेक दिन औसतमा करिब १२ सन्दिग्ध दाबी गरेका छन् । ट्रम्पको सबैभन्दा बढी चर्चामा रहेका सन्दिग्ध दाबीमध्ये सन् २०१६ मा सम्पन्न राष्ट्रपति निर्वाचनमा रुसको हस्तक्षेप प्रमुख मानिन्छ । त्यसपछिका अन्य दाबीमा व्यापारका सम्बन्धमा रहेका छन् । आफ्नो दाबी या बयान झुटो प्रमाणित भइसक्दा पनि ट्रम्पले त्यसलाई नसुधारेको वासिङ्टन पोस्टको भनाइ छ । ट्रम्पको यस्तै वक्तव्य र अरुको कुरा नसुन्ने आदतका कारण एकातिर उनको छवि एउटा मुडी नेताका रुपमा बन्दै गएको छ भने अर्कोतिर थुप्रै मुलुकसँगको सम्बन्धमा अविश्वास उत्पन्न हुन पुगेको छ ।

गम्भीर विषयमा समेत अप्रत्यासित प्रतिक्रिया दिने उनको स्वभावका कारण उनी विवादमा पर्दै आएका छन् । छिमेकी भारत र चीनसँगको अमेरिकी सम्बन्ध पनि पछिल्लो समय चिसिँदै गएको छ । वर्ष दिनभन्दा लामो समयदेखि चीनसँग उसको ‘ट्रेड वार’ चलिरहेको छ भने हालै भारतमाथि पनि व्यापारका विषयमा खटपट सुरु भएको छ । भारतलाई अमेरिकाले दिँदे आएको विशेष सुविधा बन्द गरिएको छ भने लामो समयदेखि भारतले निर्यात गर्दै आएका कतिपय वस्तुमा समेत थप कर लगाइएको छ । – एजेन्सी