पुर्व प्रधानमन्त्री भट्टराईको ओरिजिनल ट्वीटर अकाउन्ट नचिन्दा……

प्रकाशित मिति:

सबलपोष्ट – मंगलबार बिहानै देवदह नगरपालिकाका मेयर एवं कांग्रेस रुपन्देहीका नेता हिरा केसीले पुर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई लक्षित गर्दै फेसबुकमा यस्तो लेखे–‘पागलपन को पनि हद हुन्छ् ! मुलुकको जिम्मेवारी लिइरहेका र लिइसकेका जिम्मेवार ब्यक्तिहरुको अभिव्यक्ति र ट्वीट देख्दा उदेक र दया लागेर आउँछ । कोहि भैसीको पाडो र भ्यागुताको बच्चाको कथा सुनाउदै छन् कोहि यस्तो ट्वीट गर्दै छन् । यो जानेर हो ? न जानेर हो ?जसरी पनि चर्चामा आउन हो ? प्रतिकृया के आउँछ भनेर हो अथवा बुद्धि नै यस्तै भएर होला ?’ यो स्टाटस पोष्ट भएको दश मिनेट नबित्दै थुप्रै कमेन्ट आए, जसमा डा. भट्टराईलाई तथानाम गाली र घृणा गरियो ।

यहीबीचमा उनलाई कोरियाबाट एकजना नेपालीको फोन आयो । त्यसपछि मेयर केसीले उक्त स्टाटस तुरुन्तै डिलिट गरे । नेपाली कांग्रेसकै तिलोत्तमाका स्थानीय नेता माधव देवकोटाले पनि मंगलबार बिहान ८ बजेतिर डा. भट्टराईलाई गाली गर्दै फेसबुकमा स्टाटस पोष्ट गरे । जसमा लेखिएको छ–‘अहिलेका प्रम केपी ओलीले एउटा चुनावी आम सभामा नेपाली कांग्रेसलाई समवेदना दिएको दिन देखि नै उनलाई निच व्यक्तिको रूपमा गणना गरेको छु । आज अर्को पूर्व प्रधानमन्त्रीको बौद्धिक स्खलन देखेपछि सबै कम्युनिस्टधारी यस्तै हुन् कि भन्ने सोच्न बाध्य बनायो ! कम्युनिस्ट पृष्ठभुमि भएका मित्रहरूको हैसियत सबैको यस्तै हो त ? पागलपनको पराकाष्ठा ।’ देवकोटाको स्टाटस हेरेर पनि थुप्रै भट्टराईलाई तल्लोस्तरका गालीगलौज र निन्दा गरिए । कसैले त राक्षस सम्म भनेर टिप्पणी गरे । खासमा डा. भट्टराईको फेक -नक्कली ट्वीटर एकाउन्टबाट कसैले ‘नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपि कोइरालाको स्मृति दिवसमा हार्दिक श्रद्धाञ्जली नेपाली कांग्रेसलाई पनि’ शब्दहरु पोष्ट भएर सामाजिक सञ्जालमा आयो । यसलाई डा. भट्टराईको आधिकारिक ट्वीटर एकाउन्ट मानेर कांग्रेस नेता÷कार्यकर्ताहरुले उनीमाथि आक्रोश र आलोचना पोखे । भट्टराईका समर्थकले फेक एकाउन्ट हो भन्दै बचाउ गरे । सामाजिक सञ्जालमा भट्टराईको फेक एकाउन्टको स्टाटस प्रयोग गरेर आफ्ना नेतामाथि निन्दा र आलोचना भएको डा. भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले पनि थाहा पाए । र उनले स्थानीय सञ्चारकर्मीलाई डा. भट्टराईको ओरिजिनल ट्वीटर एकाउन्टबारे जानकारी गराउंदै वास्तविकता बुझाइदिन आग्रह गरे । सञ्चारकर्मीले देवदहका मेयर केसीसंग यसबारे बुझ्न खोज्दा उनले शुरुमै पुर्वप्रधानमन्त्रीको वास्तविक एकाउन्ट थाहा नहुंदा फेक आईडीलाई आधार मानेर स्टाटस लेखेर गल्ती गरेको स्वीकारे ।

‘एकाबहानै आफ्नो पार्टीलाई श्रद्धान्जली दिएको देख्दा झोंक चल्यो र स्टाटस लेखिहालें’–मेयर केसीले भने–‘दश मिनेटमै कोरियाबाट एकजना साथीको फोन आयो र त्यो फेक एकाउन्ट हो भनेर जानकारी दिएपछि पछुतो मान्दै तुरुन्तै हटाएं ।’ कांग्रेस रुपन्देही क्षेत्र नंंं २ का सचिव देवकोटाले भने डा. भट्टराईको फेक आइडीबारे अझै पत्तो नपाउंदा अझै आफ्नो स्टाटस हटाएका छैनन् । पुर्व प्रधानमन्त्री भट्टराईका स्वकीय सचिव पाण्डेले डा. भट्टराईलाई बद्नाम गर्न राजनीतिक उद्देश्यबाट प्रेरित भएर जानाजान राष्ट्रिय महत्वका गम्भीर विषयहरुमा डा. भट्टराई र उनको पार्टीलाई नकारात्मक असर पुग्ने गरी फेक आइडीमार्फत बेला बेलामा आक्रमण हुने गरेको भन्दै ओरिजनल र फेक एकाउन्ट चिनेर मात्र टिप्पणी गर्न आग्रह गरे । ‘विशेषगरी संवेदनशील विषयहरुमा पटक–पटक यस्तै बद्नाम गर्न खोजिन्छ’–पाण्डेले गुनासो पोख्दै भने ।