पत्रकारिता समाजको ऐना हो : अध्यक्ष घर्तीमगर

प्रकाशित मिति:

कौरव खत्री बाग्लुङ्ग बाग्लुङ्गको गलकोट नगरपालिका वडा नं १० का वडाअध्यक्ष तिलक घर्ती मगरले पत्रकारिता भनेको समाजको ऐना भएको बताए ।मंगलवार पाण्डवखानी अनलाईन खबरले आयोजना गरेको एक हप्ते आधारधूत रेडियो उदघोषण तथा पत्रकारिता तालिमको समापन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष घर्तीले यस्तो बताए ।साथै वडाअध्यक्ष घर्तीमगरले ग्रामीण क्षेत्रमा पत्रकारिताको विकासले स्थानीय स्तरमा भए गरेका गतिविधिहरुलाई समाचार सामग्री मार्फत विश्व सामु पुयाउन यो तालिमको महत्वपूर्ण रहने भन्दै अध्यक्ष घर्तीले तालिममा सहजीकरण गर्ने प्रशिक्षक, आयोजक संस्था र सहभागीहरुलाई धन्यवाद समेत दिए ।

कार्यक्रममा पुर्व सांसद नर बहादुर पुन निरज, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्शद थम्मन थापा, वडा सदस्य राम बहादुर विक, पाण्डवखानी माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मानसिंह छन्त्यालले शुभकामना मन्तव्य राखेका थिए ।त्यस्तै तालिममा सहभागि प्रशिक्षार्थी हरि विक,साजन विक र विपिन दर्जीले तालिमले आफुहरुलाई आत्मबल बढाएको र पत्रकारिता तर्फ आकर्षण गरेको र क्षमता अभिवृद्वि गर्न सहयोग पुगेको धारणा राखेका थिए ।

अवसरमा तालिमका प्रशिक्षकहरु नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्शद थम्मन थापा सन्देश,नेपाल पर्यटन पत्रकार संघ गुल्मीका अध्यक्ष कौरव खत्री, वडा सदस्य राम बहादुर विकलाई मायाको चिनो प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।साथै तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो । तालिम सञ्चालनको लागि पाण्डवखानी समाज युकेले नगद रु ३१ हजार आर्थिक सहयोग प्रदान गरेको थियो ।तालिममा पत्रकारिताको मूल्य मान्यता र कार्य विधी, उद्घोषण कला, फिचर न्यूज लेखन, अनलाईन पत्रकारिता, अन्तरवार्ता, समाचार लेखन, पत्रकारका काम कर्तव्य र अधिकार, पत्रकार आचार संहिता लगायतका विषयमा सहजीकरण गरिएको तालिम संयोजक सुरेश छन्त्यालले जानकारी दिए ।

समापन कार्यक्रम पाण्डवखानी अनलाईन खबर सञ्चालन समितिका अध्यक्ष देवराज पुनको अध्यक्षता तथा प्रशिक्षार्थी भिमा श्रीसको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने अनलाईन सह सम्पादक दिप घर्तीले गरेका थिए । पत्रकारिता तालिममा पाण्डवखानी र आसपासबाट २२ जना महिला पुरुषहरुको सहभागिता रहेको थियो ।