मल्लको आक्रामक ब्याटिङ : नेपालले मलेसिया माथि निकाल्यो सहज जित

प्रकाशित मिति:

काठमाडौं – कप्तान ज्ञानेन्द्र मल्लको उत्कृष्ट ब्याटिङ प्रेरित नेपाली क्रिकेट टोलीले मलेसियालाई पराजित गरेको छ । सिंगापुरस्थित इन्डियन एसोसियसन ग्राउण्डमा भएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य पछ्याएको नेपालले ७.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । नेपालका लागि ओपनिङ ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गर्दै मलेसिया ७ विकेटले पराजित गर्न सफल भयो । नियमित कप्तान पारस खड्का ढाडमा समस्याका कारण मैदान बाहिर रहँदा कप्तानी पाएका मल्लले विष्फोटक ब्याटिङ गर्दै ५१ रन बनाए । उनले २१ बलको सामना गर्दै ५ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै, प्रदिप ऐरीले १२ रन बनाए भने विनोद भण्डारीले अविजित १२ रन बनाउँदै नेपाललाई जित दिलाए ।

नेपालविरुद्ध मलेसियाका मोहमद सहादले ३ विकेट लिए । यसअघि मलेसियन टोलीले जीतका लागि नेपाली टोलीलाई ८४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । सिंगापुरस्थित इन्डियन एसोसियसन ग्राउन्डमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ९ ओभर पुरा खेल्दै ७ विकेट गुमाएर ८३ रन बनायो । बर्षाले खेल प्रभावित भएपछि खेल ९ ओभरमा झारिएको थियो ।

मलेसियाका ब्याट्सम्यानले आक्रामक खेल्दै नेपालविरुद्ध ८३ रन बनाए । मलेसियाका लागि सायद अजिजले सर्वाधिक ३० रन बनाएका थिए । उनले १५ बलको सामना गर्दै ५ चौका र १ छक्का प्रहार गरेका थिए । मलेसियालाई ८३ रनमा रोक्न नेपालका सोमपाल कामीले ३ विकेट लिए भने उनी सबैभन्दा महंगा पनि भए । उनले २ ओभर बलिङ गर्दै २३ रन खर्चिएर ३ विकेट लिए भने वसन्त रेग्मीले २ विकेट लिए । यस्तै, सन्दीप लामिछाने, करण केसीले समान १–१ विकेट लिए । यो जीतसँगै नेपालले प्रतियोगितामा २ अंक जोडेको छ । पराजित मलेसियाको पनि अंक २ नै छ ।