जब जलाउन ठिक्क पारिएको ‘शव’ एक्कासी चल्यो …

प्रकाशित मिति:

पाल्पा – बिरामी भएर उपचार गराइरहेकी एक महिलाको मृत्यु भएको भन्दै आफन्तले नै घाट पुर्याएर अन्त्येष्टि गर्ने क्रममा ब्युझिएकी छन् । पाल्पा रैनादेवी गाँउपालिका १, सिद्धेश्वरकी ३६ वर्षीया नर्मदा ज्ञवालीको तानसेनको युनाइटेड मिसन अस्पतालमा १० दिन उपचार गरिएको थियो । उनका पतिसहित आफन्तकै आग्रहमा अस्पतालले सोमबार दिउँसो अक्सिजन लगाएर बिरामीलाई डिस्चार्ज गरेको थियो । नर्मदाका आफन्तले अस्पतालबाट सीधै रिडी घाट पुर्याएको वडाध्यक्ष सोमबहादुर दर्लामीको बताउँछन् ।

उनका अनुसार अक्सिजन निकालेको आधा घण्टापछि बिरामीको मृत्यु भएको हल्ला भएपछि आफन्तहरुले पानीमा आधा शरीर डुबाएर चिताको तयारी गर्दै थिए । केही समयपछि बिरामी चल्न, कराउन थालेपछि तत्कालै रिडी गुल्मीको प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको थियो । स्वास्थ्यकर्मीले धड्कन र नाडी चलेकाले थप उपचारका लागि अस्पताल लैजान भनेपछि सोमबार बेलुकी नर्मदाको लुम्बिनी मेडिकल कलेज प्रभासमा भर्ना गरी उपचार गरिएको हो । अहिले उनको पुन: उपचार सुरु गरिएको छ ।

झाडापखालाकी बिरामी नर्मदालाई मुटुको समस्या देखिएको र डाललासिन गर्नुपर्छ भनेपछि पैसा अभाव भन्दै आफन्तले बिरामीलाई डिस्चार्ज गर्न दबाब दिएको मिसन अस्पतालले जनाएको छ । अस्पतालकै एम्बुलेन्समा अक्सिजन लगाएर बिरामीलाई घर पठाएको अस्पतालको प्रतिक्रिया छ । मिसन अस्पतालका अनुसार उनका पति सूर्यचन्द्र, छिमेकी भानुभक्त भट्टराई, ओम पौडेल, थानेश्वर कडेल र सूर्यचन्द्र कँडेलले अस्पतालबाट बिरामी बुझेका हुन् ।
मिसन अस्पतालमा १० दिन उपचार गर्दा ७३ हजार ६ सय ७८ रुपैयाँ खर्च भएको र खर्चमध्ये ५६ हजार ९ सय ६३ रुपैयाँ स्वास्थ्य बिमाबाट काटिएको अस्पतालले जनाएको छ ।