विद्यालय बन्द हुने अवस्थामा

प्रकाशित मिति:

भक्तपुर – समुदायमा आधारित पुनःस्थापना ९सीबीआर०द्वारा अपाङ्गता भएका व्यक्तिका लागि सञ्चालित विद्यालय बन्द हुने अवस्थामा पुगेको छ । विगत २३ वर्षदेखि सञ्चालन भइरहेको विद्यालयमा शिक्षकको दरबन्दी काटौती भएपछि बन्द हुने अवस्थामा पुगेको हो । श्रवण शक्ति नभएका तथा बहुअपाङ्गता विशेष विद्यालयमा अध्यापन गराउँदै आएका सात जना राहत शिक्षकको दरबन्दी सरकारले काटेको छ । विद्यालयले मङ्गलबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको छ । विद्यालयले शिक्षक शिक्षिकालाई तलब भत्ता दिन सक्ने अवस्था नरहेको पनि बताएको छ । विभिन्न चरणमा गरी तत्कालीन शिक्षा विभागले विद्यालयलाई सातवटा राहत शिक्षक दरबन्दी प्रदान गरेको थियो ।

शिक्षा स्थानीय तहको अधिकार क्षेत्रभित्र गएपछि गत दुई वर्षदेखि विद्यालयमा शिक्षक दरबन्दी काटिएको संस्थाका संस्थापक अध्यक्ष सूर्यभक्त प्रजापतिले जानकारी दिनुभयो । प्रजापतिका अनुसार साविक जिल्ला शिक्षा कार्यालय भक्तपुरले उक्त विद्यालयका शिक्षकको दरबन्दी भक्तपुर नगरपालिकामा पठाएको जवाफ दिएको छ तर भक्तपुर नगरपालिकाले भने शिक्षा कार्यालयले नगरपालिकामा शिक्षाको दरबन्दी नपठाएको जानकारी दिएको उहाँले बताउनुभयो । विद्यालयमा १५ जना बहिरा र ६३ जना बौद्धिक अटिजम तथा बहुअपाङ्गता भएका व्यक्ति गरी ७८ जना बालबालिकाले शिक्षा लिइरहेका छन् । प्रजापतिले भन्नुभयो, “बालबालिकाका अभिभावकले मासिक शुल्क तिरेर पढाउन सक्ने अवस्था छैन । सरकारले भने भएको शिक्षकको दरबन्दी पनि काटिदिएपछि अहिले विद्यालयको अवस्था दयनीय बन्दै गएको छ । ” सीबीआरले शिक्षकको दबन्दीका लागि शिक्षा मन्त्रीदेखि सचिव, शिक्षा तथा मानव विकास स्रोत केन्द्र, जिल्ला शिक्षा समन्वय एकाइ, स्थानीय राजनीतिक दललगायतलाई आग्रह गरे पनि कसैले सुनुवाइ नगरेको बताइएको छ । विद्यालयले पाउँदै आएको शिक्षक दरबन्दीका लागि अदालत जानुपर्ने अवस्था आएको सीबीआरका संयोजक रमेशराम श्रेष्ठले बताउनुभयो । – गोरखापत्र